नेपाल टी–२० : फार वेस्टको पहिलो जित, काठमाडौं चार विकेटले पराजित
काठमाडौं : राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
काठमाडौंले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर पूरा गर्यो। टिमका लागि कप्तान हस्मतुल्लाह साहिदीले अविजित ५० रनको योगदान दिए।
त्यसैगरी देव खनालले १७ रन जोड्दा भीम सार्कीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ काठमाडौं नाइटसका अनिल खरेलले दुई विकेट लिए भने अविनाश बोहोरा, बसिर अहमद, अजमतुल्लाह उमरजाइ र रायन बुर्लले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन जोड्नेबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ फार वेस्टका उमर अली एक्लैले तीन विकेट लिए भने भुवन कार्की र हस्मतुल्लाह साहिदीले समान दुई–दुई विकेट लिए। त्यस्तै शेर मल्लले एक विकेट लिए।
पुष ११, २०७९ सोमबार १५:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।