कर्मचारीलाई निवर्तमान मन्त्री कार्कीले भने– ‘तपाईंहरू गम्भीर नहुनुस्, आज जान्छौ भोलि फेरि आइहाल्छौं’
काठमाडौं : निवर्तनमान सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कर्मचारीलाई गम्भीर नहुन आग्रह गरेका छन्।
सोमबार मन्त्रालयमा आयोजित आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा मन्त्री कार्कीले कर्मचारीलाई निराश नहुन आग्रह गरेका हुन्।
‘तपाईंहरूलाई म आज अलि गम्भीर देखिराछु, गम्भीर हुनुपर्ने कारण छैन,’ उनले भने, ‘हिजो जस्तो मुद्रामा उपस्थित हुनुहुनथ्यो, आज त्यस्तै मुद्रामा उपस्थित हुनुस्।’
मन्त्री र प्रधानमन्त्रीको पद राजनीतिक नेतृत्त्व भएकाले आउनेजाने क्रम चलिरहने उनले बताए।
‘हामी राजनीतिक नेतृत्त्व हौं। म यो मन्त्रालयमा आउँदा चौथोपटक मन्त्री भएर आएको हो। आज हामी जान्छौँ, फेरि भोलि फर्केर आउँछौं,’ उनले थपे, ‘हाम्रो स्रोत भनेको जनता हो। निर्वाचन क्षेत्र हो। त्यहाँबाट प्रतिनिधित्व गरेर आइसकेपछि जाने आउने क्रम जारी नै रहन्छ।’
निवर्तमान मन्त्री कार्कीले आफ्नो भूमिका फरक भए पनि उन्नति र प्रगतिमा सधैँ नै विशेष लगाव रहने बताए। साथै उनले कर्मचारीलाई दृढ अठोटका साथ काम गर्न पनि आग्रह गरे।
पुष ११, २०७९ सोमबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।