राजा मार्छु भन्ने, राजा फर्काउँछु भन्ने र राजा चाहिन्न भन्ने सबै सरकारमा, प्रजा सधैं सास्तीमाः बालेन शाह

राजा मार्छु भन्ने, राजा फर्काउँछु भन्ने र राजा चाहिन्न भन्ने सबै सरकारमा, प्रजा सधैं सास्तीमाः बालेन शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सरकार बनाउनको लागि भएको जोडघटाउ, राजनीतिक खेल र गठबन्धनको भागबन्डा देखेर सामाजिक सञ्जालमा राजनीतिक दलहरू र दलका नेताहरूलाई लगातार रुपमा टिप्पणी गरिरहेका छन्।

एमाले लगायत अन्य सात दलकाे समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि राजा मार्छु भन्ने, राजा फर्काउँन खाेज्ने र राजा चाहिन्न भन्ने सबै सरकारमा गएपछि जनता भने सधैं सास्तीमा रहने उनले बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने, तीनटै सरकारमा, हामी प्रजा सधैं सास्तीमा।’

एमाले, माओवादी र राप्रपा लगायतका दल मिलेर नयाँ सरकार बनाएपछि बालेनले याे स्टाटस हालेका हुन्।

हिजो (शनिबार) माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसँगै ओली निवास बालकोटमा भएको दलहरुको बैठकको तस्बिर पनि राखेर उनले अर्काे स्टाटस राखेका थिए, ‘हिजो एउटा कविता लेखेको थिए। आज लेख्दिन। देश के हो? व्यापार हो? खेल हो? ’

त्यस्तै, हालको राजनीतिक अवस्था देखेर बालेनले शुक्रबार पनि फेसबुकमा एउटा छोटो कविता लेखेका थिए,

‘नयाँ सांसदहरु, नयाँ गफाडीहरु,

उही पुरानो देश, उही पुराना व्यापारीहरु।’

पुष ११, २०७९ सोमबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।