विश्वप्रकाशले गगनलाई भने, 'सबै कुरा नखोल्नु है'

विश्वप्रकाशले गगनलाई भने, 'सबै कुरा नखोल्नु है'
तस्बिर: नेपाल लिट्रेचर फेस्टिभल

पोखरा: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा समर्थन गर्दा भएको सबै सहमति नखोल्न अर्का महामन्त्री गगन थापालाई आग्रह गरेका छन्। पोखरामा जारी लिट्रेचर फेस्टिभलमा सोमबार एकै मञ्चमा वक्ताको रूपमा आएका शर्माले भावी प्रधानमन्त्री र पार्टी सभापतिबारे आएको जिज्ञासामा ठट्यौली शैलीमा भने- 'अहिले नै सबै नखोल्नु है।'

गगनले पनि कार्यक्रम सञ्चालक वसन्त बस्नेतलाई उस्तै ठट्यौली शैलीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई व्यङ्ग्य गर्दै भने- 'प्रचण्डले ऋषि धमलासँग खोलेजस्तो सबै खोल्ला भन्ठानेको होला। म खोल्दिनँ।'

कार्यक्रममा शर्माले आफू मन्त्री हुन मात्र नभई सिंहदरबारमा बसेर देशकै नेतृत्त्व गर्ने लक्ष्य लिएर राजनीतिमा आएको भन्दै समय आएपछि सबै हुने बताए।

आफ्नो पार्टी सरकारको नेतृत्त्वबाट प्रतिपक्षी भएको २४ घण्टा नबित्दै प्रधानमन्त्रीको दावी गर्नु राम्रो नसुनिने भन्दै उनले अहिलेको जिम्मेवारी प्रमुख प्रतिपक्षीको रूपमा काम गर्ने रहेको बताए।

'म मन्त्री हुन्नँ भनेकै हो। त्यो भनेको कहिल्यै मन्त्री हुन्न भनेको होइन। लक्ष्य त सिंहदरबारकै नेतृत्त्व गर्ने छ।'

कार्यक्रम सञ्चालक बस्नेतले थापालाई 'त्यस्तो के गर्नुभयो जसले शर्मादेखि प्रदीप पौडेलसम्म एकै ठाउँ उभिए' भन्ने प्रश्न गरेका थिए।

उत्तरमा थापाले 'हाम्रो पुस्ता पार्टी रूपान्तरणमा लाग्न र एकै पदमा प्रतिस्पर्धा नगर्न सहमत भएको' जवाफ दिए। उनले भने, 'यदि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थन नपाएको भए म संसदीय दलको नेताको उम्मेदवार बन्न सक्दिन थिएँ। म उम्मेदवार नबनेको भए निर्वाचन हुँदैनथ्यो।'

पुष ११, २०७९ सोमबार ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।