सानो मन्त्रिपरिषद्सहित आजै सरकारको आकार, भागबण्डा मिलाउन सबै दल बैठकमा
काठमाडौं: प्रधानमन्त्रीको शपथलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न सत्ता घटक सात दल आन्तरिक बैठकमा सक्रिय भएका छन्। माओवादी केन्द्रको नेतृत्त्वको सरकारमा माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठ सहभागी हुने निर्णय भएको माओवादीका पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराएका छन्।
यता विष्णु पौडेलको कि सुवासचन्द्र नेम्वाङको नेतृत्त्वमा सरकारमा सहभागी हुने भन्नेमा एमाले अनिर्णित छ। आफ्नो भागमा पर्ने मन्त्रालय हेरेर मन्त्रीको नाम टुंग्याउने एमालेको तयारी देखिएको छ।
पहिलो चरणमा ६ जना पठाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्ताव गरेका छन्। जसमा गोकुल बाँस्कोटादेखि विद्या भट्टराईसम्मको नाम छ।
गठबन्धनको तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टीमा उपप्रधानमन्त्रीसहितको दावी गर्ने तयारी छ। सरकारमा पार्टी सभापति रवि लामिछानेले नेतृत्त्व गर्दैछन्। को-को सरकारमा जाने र कुन मन्त्रालय लिने पार्टीमा छलफल जारी छ।
सरकारमा सहभागी हुनेबारे नै रास्वपामा विवाद सुरु भएको छ। केन्द्रीय सदस्य गणेश कार्कीले रास्वपाको समर्थन नभए पनि सरकार बनाउन आवश्यक संख्या पुगेकाले प्रतिपक्षमा बस्नुपर्ने भन्दै पार्टीमा लिखित असहमति राखेका छन्।
राप्रपा सरकारमा जाने/नजाने प्रष्ट छैन। संवैधानिक राजतन्त्रको वकालत गर्ने राप्रपाले अजेण्डा मिले मात्र सरकारमा जाने दावी गर्दै आएको छ।
अन्य साना दलले सरकारमा जाने निर्णय गरिसकेका छन्। तर पहिलो चरणमा सहभागी हुन्छन् या हुन्न यकिन भएको छैन।
पुष ११, २०७९ सोमबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।