स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य कार्कीको प्रश्न- रोक्ने भनिएकाहरूलाई नै बोक्ने कित्तामा कसरी पुगियो ?

स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य कार्कीको प्रश्न- रोक्ने भनिएकाहरूलाई नै बोक्ने कित्तामा कसरी पुगियो ?

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नो पार्टी सरकार गठनमा सामेल भएकोमा असहमति जनाएका छन्। आज पार्टीका कार्यालय सचिवलाई पत्र लेख्दै उनले असहमति जनाएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री पदमा पार्टीले समर्थन गरेको समाचार देखेर पार्टीले चुनावअगाडि तय गरेका रणनीति, पार्टीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरू तथा वाचापत्र सम्झना गरेको कार्कीले बताएका छन्।

यद्यपि एउटा केन्द्रीय सदस्यलाई भएको सम्झनाले पार्टीको निर्णयमा फरक नपर्ने गरेको भन्दै उनले पार्टी नेतृत्त्वमाथि व्यङ्ग्य पनि गरेका छन्।

'उसो त अनौपचारिकरूपमा अनेकौँ पटक तथा पछिल्लो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिकरूपमा सांसदको सरकार बनाउने र ढाल्ने भन्दा अन्य धेरै जनमुखी कामहरू हुन सक्छन्, तिनलाई प्राथमिकता दिऊँ भन्ने मेरो धारणाले पनि फरक पारेन। त्यो मेरो व्यक्तिगत धारणामा सीमित रह्यो। तर यसमा मलाई व्यक्तिगतरूपमा अन्याय भएको भन्ने लागेको छैन किनभने स्वयम पार्टी सभापतिबाट व्यक्त भएका असंख्य विचारहरू पनि केवल व्यक्तिगत धारणामा सीमित भएका देखिए', उनले असहमति पत्रमा लेखेका छन्।

कार्कीले प्रश्न गरेका छन्, 'के बाध्यताले रोक्ने भनिएकाहरूलाई नै बोक्ने कित्तामा समाहित नभई जनमुखी काम गर्ने सकिन्न भन्ने निष्कर्षमा पुगियो?'

कार्कीले आफूहरूले सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर आमनागरिकहरूको निराश मनस्थितिमा आफूहरू अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेको र अहिले आफ्नो दल पनि उनीहरू जस्तै भएकोमा असन्तुष्टि पोखेका छन्।

'हामीले समर्थन नगरेको भए प्रधानमन्त्री चयन गर्ने नसकी तत्कालै निर्वाचनमा जानु पर्ने र त्यसले राष्ट्रिय खर्चमा भार बढाउने अवस्था पनि थिएन', उनले भने।

अंकगणितीयरूपमा सरकार बन्न १३८ जना सांसद चाहिने र रास्वपाले समर्थन नगरेको खण्डमा पनि सरकारमा १४९ सदस्यको समर्थन रहने हुँदा रास्वपा हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गरियो भन्ने प्रश्न गर्दै उनले आफू जवाफविहीन भएको बताएका छन्।

'अधिकतम २५ जनाको मन्त्रिपरिषद् हुने नेपालमा प्रतिनिधि सभामा मात्रै २७५ सांसद हुन्छन्। मन्त्री नभई केहि गर्ने नसकिने भाष्य निर्माण गर्ने हो भने त्यसले मन्त्री हुनबाट बाँकी रहने २५० सांसदहरूको उपस्थितिलाई अर्थहीन, बेकामे भन्छ कि भन्दैन? यसको जवाफ मसँग छैन', उनले भने।

उनले आफूहरूको वाचापत्रमै लेखिएका मुद्दाहरू: ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरू अब के हुन्छन्? भन्दै प्रश्न गरेका छन्। पार्टीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो? भन्दै थप प्रश्न गरेका छन्।

यस्तै संवैधानिक परिषद्मा रहने पद आफ्नो दलको भागमा पर्दा नाइँ भन्न सकिन्छ कि सकिन्न भन्दै उनले आफ्नो दलको चरित्र हिजो आफूहरूले नै आलोचना गरेका पार्टीहरूभन्दा भिन्न के भयो? भन्ने प्रश्न पनि नेतृत्त्वसामु तेर्स्याएका छन्।

उनले यी प्रश्नहरूको जवाफ दिन आफू असमर्थ भएपछि आफ्नो नैतिकताले सरकारलाई समर्थन गर्ने कुरामा सहमत हुन नसकेको बताएका छन्।

पुष ११, २०७९ सोमबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।