कसले गर्ला कर्णाली सरकारको नेतृत्व?
सुर्खेत। आइतबार केन्द्रमा भएको राजनीतिक उथलपुथलसँगै कर्णालीमा पनि यसको चर्चा हुन थालेको छ। नेकपा एमालेसहितको अन्य दलहरूको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएपछि कर्णालीमा पनि एमाले–माओवादीसहितको सरकार बन्ने सम्भावना बढेको छ।
अहिलेको सत्तागठबन्धनमा फेरबदल भएपछि कांग्रेस भने प्रतिपक्ष बस्ने पक्का देखिएको छ। ४० सदस्यीय प्रदेश सभामा १४ सिट ल्याएर पहिलो दल बनेको कांग्रेसलाई ‘आउट’ बनाउँदा एमाले र माओवादीले नै मिलिजुली सरकार चलाउने छन्।
यद्यपी पहिलो चरणमा कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा भने केन्द्रले टुङ्गो लगाउने छ। एमालेबाट यामलाल कँडेल र माओवादीबाट रुकुमपश्चिमका राजकुमार शर्मा, सुर्खेतका बिन्दमान विष्ट मुख्यमन्त्रीका लागि सम्भावित व्यक्ति हुन । यी दुवै दलले अहिलेसम्म संसदीय दलको नेता भने चुनिसकेका छैनन्।
दलको नेताका लागि माओवादीमा शर्मा र विष्ट दुवैको दाबैदारी छ। यस्तै एमालेमा पनि कँडेलसँगै दैलेखका विनोद शाहले पनि दावी गरिरहेका छन्। दलको नेता चयनका लागि दुवै दल केन्द्रको आदेशको प्रखाइमा छन्।
केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आंकलन गरिएको छ। एमाले विभाजनको केन्द्रबिन्दु बनेको कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ। एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक–एक जना सांसद छन्। राप्रपा पनि सरकारमा गए एमाले र माओवादीसँग २४ सिट हुन्छ।
कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ। कर्णालीमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय छन्। एमाले–माओवादीबीच समीकरण बनेपछि कांग्रेसका जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा निरन्तर हुने सपना भने रोकिएको छ। शाही शनिबार निर्विरोध दलको नेतामा चयन भइसकेका छन्।
तर, माओवादीले अन्य प्रदेश छाडेर कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बन्ने सम्भावना पनि उत्तिकै छ। कांग्रेस र समाजवादीसँग गठबन्धन हुँदा पनि माओवादीले कर्णाली सरकारको नेतृत्व आफुहरुले लिनुपर्ने सुझाव केन्द्रलाई पठाइसकेका थिए।
अन्य प्रदेश भन्दा कर्णालीमा माओवादीको सिट संख्या धेरै भएर पनि यहाँ आफूहरुको दावी रहेको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन्।
कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने अध्यक्ष केसीले बताइन्। तर केन्द्रमा भागबण्डा नभएकाले पहिला कस्ले नेतृत्व गर्ने भन्ने बारे पछि टुंगो लाग्ने उनको भनाइ छ।
‘केन्द्रमा फेरिएको सत्तासमीकरण अनुसार कर्णालीमा पनि माओवादी र एमालेको सरकार बन् । राप्रपाको पनि साथ रहन्छ’, अध्यक्ष केसीले भनिन्, ‘यहाँ सरकारको नेतृत्व हामीले गर्नुपर्छ भनेर पहिलादेखि नै ‘लविङ’ गरिरहेका छौं।’
यदी कांग्रेसले स्वतन्त्र सांसद, राप्रपा र एकीकृत समाजवादीलाई समावेश गरेपनि बहुमत पुग्दैन। यी सबैको संख्या जोड्दा १७ मात्रै हुन्छ।
पुष १०, २०७९ आइतबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।