एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएसँगै खगराजको बढ्यो मुख्यमन्त्री बन्ने सम्भावना
पोखरा। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत् रुपमा चयन भएका छन्। आज बसेको एमाले गण्कडी प्रदेशस्तरिय बैठकले अधिकारीलाई सर्वसम्मत् चयन गरेको हो। नेकपा एमालेको संगठन विभाग प्रमुखसमेत रहेका खगराज अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसदको उम्मेदवार नबनी गण्डकी प्रदेशसभा सदस्यमा उमेदवार बनेर कास्की १ ‘क’बाट निर्वाचित भएका थिए।
यसअघि स्वास्थ्य र गृहमन्त्री समेत भएका अधिकारीलाई पार्टीका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले संसदीय दलको नेता हुनबाट रोक्ने योजना बनाएका थिए। तर, पार्टी अध्यक्ष केपी ओलीको सल्लाहमै प्रदेशको मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशमा भरेकाले पृथ्बीसुब्बा गुटको केही चलेन।
गण्डकीमा विगत लामो समयदेखि संगठन विभाग प्रमुख खगराज र उपमहासचिव पृथ्वी सुब्बाले गुटगत राजनीति गर्दै आएका छन्। गण्डकीको संस्थापक मुख्यमन्त्री बनेका पृथ्बीसुब्वा यसपटक पनि प्रदेशमै चुनाव लड्न चाहेका थिए।
तर, खगराजलाई मुख्यमन्त्री बनाउने योजनासहित पार्टी अध्यक्ष ओलीले उमेदवार बनाएपछि उनलाई संसदीय दलको नेता बन्नबाट रोक्ने योजनामा पृथ्बी सुब्बा गुट लागि रहेको थियो। अन्यमा खगराजलाई रोक्न उनी असफल भए।
गण्डकी प्रदेशमा एमालेको संसदीय दलको नेतामा चुनिए सँगै केन्द्रमा पनि राजनीतिक अवस्था फेरिएकाले खगराज प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ। केन्द्रमा दलहरुबीच सरकार बनाउने रस्साकस्सी चलिरहेकाले प्रदेशमा समेत सरकार बनाउन पर्ख र हेरको अवस्थामा रहेको दलहरुमा नयाँ सम्भावनाको विकास भएको छ।
कांग्रेस, माओवादी लगायतका गठबन्धन दलहरूको सहमतिमा सरकार बनेको अवस्थामा मधेश प्रदेश बाहेकका प्रदेशहरूमा समेत उनीहरुकै सरकर बन्ने सम्भावना रहेको थियो। तर, एकाएक एमाले, माओवादी लगायतका दलको सरकार बन्ने अवस्था श्रृजना भएसँगै प्रदेशमा समेत यिनै दलहरुको सरकार बन्ने अवस्था आएको छ।
राजनीतिक पार्टीमा नयाँ कोर्षको राजनीति शुरु भएकाले गण्डकीमा पनि एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको छ। अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि कुनै एक पार्टीको स्पष्ट बहुमत नआएकाले दुई वटा दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता छ। प्रत्यक्ष र समानुपातिक सहित ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्दछ।
गण्डकी प्रदेशसभाको ६० सिटमध्ये २७ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। त्यसैगरी एमालेले २२, माओवादी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २ र एकीकृत समाजवादीले १ सिट जितेका छन्।
प्रदेशसभामा ठूलो दल बनेकाे कांग्रेसलाई सरकार बनाउनका लागि थप ४ सिट आवश्यक पर्दछ। कांग्रेसलाई माओवादी केन्द्रको समर्थन भएको अवस्थामा सजिलै बहुमत पुग्ने अवस्था छ। तर, केन्द्रमा बदलिएको सत्ता समिकरणपछि त्यो सम्भावना नरहेकाले अब २२ सिट जितेको एमाले, ८ सिट पाएको माओवादी र २ सिट भएको राप्रपा मिलेर सरकार बनाउने सम्भावना भएकोले खगराज अधिकारीको भाग्य चम्कने देखिएको छ।
आज केन्द्रमा एमाले माओवादीबीच नयाँ सत्ता समिकरण बनेको र राप्रपाले चुनावमा पनि एमालेसँगै तालमेल गर्दै अहिलेपनि सँगै सहकार्यमा रहेकाले खगराज मुख्यमन्त्री बन्ने प्रबल सम्भावना बढेको छ।
निर्वाचनमा कांग्रेस, माओवादी र एकिकृत समाजवादीले तालमेल गरेकाले प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले दावी गर्दै आएको थियो। तर, पछिल्लो राजनीतिक घटनाक्रमले निर्वाचनका बेला कायम गठबन्धन तोडिएसँगै गण्डकीमा पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको छ ।
पुष १०, २०७९ आइतबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।