चुनावअघि ओलीले प्रधानमन्त्रीकाे प्रस्ताव गरेपनि अस्वीकार गर्छु भनेका प्रचण्ड अहिले ओलीकै साथ पाएर प्रधानमन्त्री बने

चुनावअघि ओलीले प्रधानमन्त्रीकाे प्रस्ताव गरेपनि अस्वीकार गर्छु भनेका प्रचण्ड अहिले ओलीकै साथ पाएर प्रधानमन्त्री बने
तस्बिरः क. प्रचण्ड फेसबुक पेज

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र शेरबहादुर देउवासँगकाे गठबन्धन ताेड्दै पुनः ओलीसँग जोडिएर तेस्रोपटक प्रधानमन्त्री बनेका छन्। संविधानको धारा ७६ को (२) अनुसार आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

उनले एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए। एमाले र ओली लगायतका अन्य दलसँगकाे नयाँ गठबन्धनबाट उनी प्रधानमन्त्री  बनेका।

तर निर्वाचनअघि ओलीसँग झगडा र कांग्रेससँग गठबन्धन भएका बेला पत्रकार ऋषि धमलासँगकाे एक अन्तर्वार्तामा उनले ओलीले प्रधानमन्त्रीकाे लागि प्रस्ताव गरे भने पनि अस्वीकार गर्ने बताएका थिए।

एक टेलिभिजन अन्तर्वार्तामा धमलाले साेधेका थिए, ‘मंसिर ४ पछि तपाईंलाई केपी शर्मा ओलीले याे गठबन्धन ताेड्नुपर्छ, प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गर्नुभयाे भने के गर्नुहुन्छ? कुर्सीकाे लागि याे गठबन्धन भताभुंग पारेर लाग्नु हुन्छ कि लाग्नु हुन्न?’ 

यस प्रश्नमा प्रचण्डकाे उत्तर थियाे, ‘यही गठबन्धनले निरन्तरता पाउँछ, मलाई केपी शर्मा ओलीबाट प्रधानमन्त्रीकाे प्रस्ताव आयाे भने पनि म अस्वीकार गर्छु।’ 

तर आज उनै ओलीकाे सहयाेगमा प्रचण्ड प्रधानमन्त्री बनेका छन्। सायद उनले त्याे अन्तर्वार्ता बिर्सिसके हाेला।

पुष १०, २०७९ आइतबार २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।