देउवालाई छाडेर ओलीसँग जाेडिदै तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड
काठमाडाैं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशकाे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। संविधानको धारा ७६ को (२) अनुसार आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। उनी यसअघि २०६५ र २०७३ सालमा प्रधानमन्त्री बनेका थिए।
एमाले लगायतकाे नयाँ गठबन्धनसँगै बहुमत दलहरूको सहमतिसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए।
उनलेले एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि नेपालको संविधानअनुसार आज साँझसम्मको समयसीमा तोकी दाबी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गरेकी थिइन्। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आज भएको दलहरुको सहमतिअनुरुप ओलीसहितका विभिन्न पार्टीका शीर्ष नेता राष्ट्रपति निवास पुगेका हुन्।
प्रचण्ड पहिले प्रधानमन्त्री बन्ने भएपछि राष्ट्रपति पद भने एमालेको भागमा परेको छ। त्यसैगरि, स्रोतका अनुसार प्रधानमन्त्री जस्तै सभामुखमा पनि आलोपालो कार्यकाल विभाजन गरिने प्रारम्भिक सहमति भएको छ।
यस सहमतिअनुसार दाहाल आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्री रहने छन्। यसपछि प्रधानमन्त्री एमालेको भागमा जानेछ।
पुष १०, २०७९ आइतबार १८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।