पोखरामा पहिलो पटक जेट विमान अवतरण

पोखरामा पहिलो पटक जेट विमान अवतरण

पोखरा। पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ। सौर्य एयरलाइन्सले आज (आइतबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो।

हाल संचालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन।आज ‘प्रुभनफ्लाइट’ भएसँगै एयर लायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ।

विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडाैं–पोखरा–काठमाडौं दैनिक २ उडान गर्ने समेत जनाएको छ। यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित र आरामदायी मानिन्छ ।

प्रुभनफ्लाइट सम्पन्न भएसँगै काठमाडौं–पोखरा–काठमाडौं फ्लाइट नियमित गरिने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए। सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास लिएको अध्यक्ष पाखरेलले बताए।

उनले भने,‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु। आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु।’ 

यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको यस एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौं र पोखराका पर्यटन व्यवसायीसँग समन्वय गर्दै सेवालाई थप चुस्त बनाउने पोखरा स्टेसनका स्टेसन इन्चार्ज जितेन्द्र यादवले बताए । 

पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुशीको कुरा भएको उनको भनाइ छ। ‘पोखराको इतिहासमा पहिलो पटक जेट विमान मार्फत यात्रा गराउन लागेका छौं, यादवले भने,‘हाम्रा लागि  मात्र नभई यो यात्रुका लागि समेत खुशीको कुरा हो।’

सुरुवातमा यस उडानकाे न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ। यात्रुको चापअनुसार अन्य एयरलाइन्स सरह मूल्य तोकिने इन्चार्ज यादवले जानकारी दिए।

पुष १०, २०७९ आइतबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।