प्रधानमन्त्रीकाे दाबी गर्न राष्ट्रपति निवास पुगे प्रचण्ड, ओली छन् साथमा
काठमाडौं। प्रधानमन्त्रीमा दाबी गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन्। नयाँ गठबन्धनसँगै अन्य दलहरूको सहमति लिएर एमालेका अध्यक्ष केपी ओलीकाे साथमा प्रचण्ड शीतल निवास पुगेका हुन्।
नयाँ सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा दिएकी थिइन्। दाबीकाे लागि दिइएकाे अन्तिम समयमा प्रचण्ड शितल निवास पुगेका हुन्।
बालकोटमा सरकार गठनबारे भएको छलफलमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको थियाे। आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकाल (साढे २ वर्ष) का लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो। यसपछि प्रधानमन्त्रीको कुर्सी एमालेको भागमा पर्नेछ।
नेपाली कांग्रेससँग सहकार्य नभएपछि गठबन्धन तोड्दै प्रचण्ड बालकोट पुगेका थिए। बालकोट बैठकमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरि ७ दलकाे गठबन्धन भएकाे छ। यस सहमतिपछि १६६ जना सांसदहरूले दाहालको नेतृत्वको सरकारलाई समर्थन गर्ने भएका छन्।
पुष १०, २०७९ आइतबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।