सत्तागठबन्धन दलको बैठक पुनः बस्ने, नेता कार्की भन्छन्- गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, हामी निर्णयमा पुग्छौं

सत्तागठबन्धन दलको बैठक पुनः बस्ने, नेता कार्की भन्छन्- गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, हामी निर्णयमा पुग्छौं

काठमाडाैं। प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि सुरु भएको सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक केही बेरपछि पुन: बस्ने नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्

उनले भने, “गठबन्धन मुलुकको अहिलेको आवश्यकता हो, गठबन्धन दलको बैठक केही समयमा पुन:सञ्चालन हुन्छ, हामी निर्णयमा पुग्छौं।” गठबन्धन जनताले निर्वाचनका माध्यमबाट अनुमोदन गरिसकेको र जनताको अभिमतको आफूहरुले कदर गर्ने बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेकाे एक साताको समय आज सकिँदैछ। निर्धारित समयभित्र नयाँ सरकारको दाबी गर्न दलहरुको प्रयास जारी छ।

गठबन्धन दलले आफ्नै आगामी नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलले आगामी सरकार गठनका लागि विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास जारी राखेका छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरेकी थिइन्।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

पुष १०, २०७९ आइतबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।