जसले बढी मन्त्रालय दिन्छ उसैलाई रास्वपाको समर्थन
काठमाडौं : जसले बढी मन्त्रालय दिन्छ उसैलाई समर्थन गर्ने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुँदैछ। रास्वपाले संसदीय दलको बैठकमार्फत सरकारमा जाने बाटो खोल्न लागेको हो।
संसदीय दलको बैठकबाट निर्णय नगरे पनि पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले विभिन्न दलसँग छलफल गरेर मन्त्रालयको संख्या समेत मागी सकेका छन्।
जानकार स्रोतका अनुसार गठबन्धनबाट तीन मन्त्रालयमा लगभग सहमति भइसकेको छ। उनले सञ्चार मन्त्रालयसहितकाे मन्त्रालय मागेका छन्। तर, कांग्रेस उनलाई सञ्चार दिने पक्षमा देखिएको छैन।
दोस्रोमा स्वास्थ्य मन्त्रालयसहित सरकारमा जाने रणनीतिमा छन् रवि। उता एमाले वा माओवादीको तालमेलमा सरकार बन्यो भने पनि रास्वपाका सभापति सरकारमा जान सहमत देखिएका छन्।
माओवादी गठबन्धनबाट बाहिरिए चौथो दलको रूपमा निर्णायक हुने र त्यो बेलामा मन्त्रालयको संख्या बढाउन सकिने रास्वपा रवि समूहको रणनीति देखिन्छ। रवि र उनी पक्षका सांसदहरू जसरी पनि सरकारमा सहभागी हुने पक्षमा छन्। बहुमत सांसद प्रतिपक्षमा बस्नुपर्ने पक्षमा भए पनि तत्काल रविविरुद्ध जानसक्ने अवस्थामा छैनन्।
'अहिलेको म्याण्डेट सरकारमा जाने हैन, प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्ने हो। तर पार्टी सभापतिज्यू सरकारमा जाने पक्षमा हुनुहुन्छ,' रास्वपाका एक सांसदले उकेरालाई भने, 'बाहिर लोयल नेता देखिनुहुन्छ। तर आन्तरिक बैठकमा भने उहाँको स्वभाव अर्काको कुरा नसुन्ने, आफ्नै धारणामा पेल्ने खालकाे देखियो।'
बहुमतको निर्णय मान्ने हो भने संसदीय दलको बैठकबाट सरकारमा नजाने निर्णय आउने ती सांसदको दाबी छ। तर पार्टी नेतृत्व तत्काल मत विभाजन गरेर निर्णय गर्ने भन्दा सर्वसम्मत् निर्णय गर्ने पक्षमा छ।
पुष १०, २०७९ आइतबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।