ओलीलाई भेट्न बालकोटतिर लागे प्रचण्ड, गठबन्धन टुटेको पौडेलको दावी

ओलीलाई भेट्न बालकोटतिर लागे प्रचण्ड, गठबन्धन टुटेको पौडेलको दावी

काठमाडौं: राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेको समयसीमा आज साँझ ५ बजेसम्मको मात्र भएकाले दलहरूबीच बहुमत जुटाउन ठूलो संघर्ष जारी छ। आज बिहानभर बसेको गठबन्धनका शीर्षनेताहरूको निर्णायक भनिएको बैठक बिनानिष्कर्ष टुङ्गिएपछि राजनीतिक माहोल थप गर्माएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले पहिलो दुई वर्षको कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने दावी नछोडेपछि सत्ता गठबन्धनमा फाटो आएको छ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पहिलो दुई वर्षे कार्यकाल चलाएर सरकारको नेतृत्त्व हस्तान्तरण गर्ने आश्वासन दिए पनि माओवादी अध्यक्ष प्रचण्डलाई त्यो मान्य भएन।

प्रचण्ड अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। बालकोटमा दुई नेताबीच केही बेरमै भेट हुने तय भएको छ। यद्यपि हिजो मात्र ओलीले प्रचण्डतर्फ इङ्गित गर्दै प्रधानमन्त्रीका लागि एमालेसँग कुरा गर्न ढिलो भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

तर एमालेले आजको गठबन्धनको निर्णायक भनिएको बैठकको निष्कर्ष कुरेको थियो।

यता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको दावी गरेका छन्। उनले आफूहरू गठबन्धन जोगाउने पक्षमा भए पनि अब आफूहरूको हातमा केही नरहेको बताएका हुन्।

पुष १०, २०७९ आइतबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।