कांग्रेसको गुटगत राजनीतिले आलोपालोमा विश्वस्त हुन सकेन माओवादी, सरकार बनाउन सबै विकल्प खुला
काठमाडौं: शेरबहादुर देउवाको पार्टी सभापतिको कार्यकाल ३ वर्ष मात्रै बाँकी छ। गत मंसिर १४ मा भएको १४औँ महाधिवेशनबाट निर्वाचित उनको कार्यकाल चार वर्ष मात्रै हो।
सरकारको कार्यकाल पाँच वर्षको हो। सत्ता गठबन्धनबाट आलोपालोमै उनी पहिलो कार्यकालमै प्रधानमन्त्री नबने दोस्रो कार्यकालमा प्रधानमन्त्रीमा लागि अहिले जस्तो सहज नहुनसक्छ।
आलोपालोमा सहमत भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को शंका पनि यही हो। दोस्रो चरणमा प्रधानमन्त्री बन्दा कांग्रेसको पार्टीको नेतृत्त्व बदलिने निश्चित छ। त्यो बेलामा देउवा समूहबाटै पार्टी सभापति हुने यकिन छैन।
पार्टीको नेतृत्त्व बदलिँदा त्यसको असर सरकारको नेतृत्त्वमा समेत पर्ने आकलन गर्दै उनी पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडबल गरिरहेका छन्। यसले राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय घर्किदै जाँदा पनि सरकारको रूपरेखा बन्न सकेको छैन।
सरकारको नेतृत्त्वबारे सहमति जुटाउन गठबन्धन दलका शीर्ष नेताबीच छलफल जारी छ। शीर्ष तहको छलफलपछि गठबन्धन दलको बैठक बसेर निर्णय गर्ने तयारी छ।
सहमति भए गठबन्धनमा एमालेबाहेकको दलको समर्थनमा सरकार बनाउने कांग्रेसको तयारी देखिन्छ। माओवादी बाहिरिएमा राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सरकार बन्ने अंकगणित बनाएर बसेको छ कांग्रेस।
दोस्रो विकल्पमा कांग्रेस-एमालेको सरकार बन्ने सम्भावना पनि छ। कांग्रेस र एमालेबीच शनिबार बेलुकासम्म छलफल जारी थियो। एकीकृत समाजवादी गठबन्धनकै सरकारको पक्षमा देखिन्छ।
आज पाँच बजेसम्म समय
राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकारको नेतृत्त्वको दावी पेश गर्न दिएको समय आज पाँच बजे सकिँदैछ। तोकिएको अवधिमा कसैले दावी पेश नगरे राष्ट्रपति अर्को चरणमा प्रवेश गर्न सक्छिन्।
अहिले एमाले पनि सरकारमा सहभागी हुने रणनीतिमा छ। यसका लागि उसले सरकारको नेतृत्त्वको दावी गरेको छैन।
उसको दावी राष्ट्रपति देखिन्छ। माओवादी र कांग्रेससँग समानान्तर रूपमा छलफल चलाइरहेको छ उसले। पहिलो प्राथमिकता कांग्रेस अनि कांग्रेस नआए माओवादीसहितको सरकार उसको प्राथमिकतामा देखिन्छ।
पुष १०, २०७९ आइतबार १३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।