अमेरिकामा हिमवर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु 

अमेरिकामा हिमवर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु 

एजेन्सी: अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन्। लाखौँ अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ।

अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ। चिसोका कारण कम्तिमा १८ व्यक्तिले ज्यान गुमाएका छन्।

अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ।

मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्।

चिसो आगामी हप्तासम्म कायम रहने पूवानुमान मौसमविद्हरूले गरेका छन्। खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रबार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चिसो रहने बताएको छ।

पुष १०, २०७९ आइतबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।