मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको बैठक भोलि बस्ने

मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको बैठक भोलि बस्ने

काठमाडौं: मधेश प्रदेश सभा सचिवालयको आह्वानमा सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ। नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभा सचिवालायले जनाएको छ।

मधेश प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए। “दलहरूसँगको समन्वयमा बैठक बस्दैछ”, सचिव यादवले भने, “त्यसपछि हामी शपथ ग्रहण र प्रदेश सभा बैठकको तयारीमा जुट्छौँ।”

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेश सभाका सदस्यले प्रदेश सभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानून बमोजिम शपथ लिनुपर्छ। त्यसैगरी संविधानको धारा १८३(१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेश सभाको अधिवेशन आह्वान गरिसक्नुपर्ने छ।

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेश सभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए।

पुष १०, २०७९ आइतबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।