बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच निर्णायक छलफल जारी

बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच निर्णायक छलफल जारी

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ। सरकारको नेतृत्त्व कसले गर्ने भन्ने सवालमा सहमति नजुट्दा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच अहिले छलफल चलिरहेको हो।

आजको छलफल निर्णायक हुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समयसीमा निर्धारण गरी आह्वान गरेकाले दलहरूलाई आजै सहमति टुङ्ग्याउनुपर्ने बाध्यता छ।

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डले पहिलो दुई वर्षे कार्यकाल दावी गरिरहेका छन्। यस्तै कांग्रेस सभापति देउवाले आफूले पहिलो दुई वर्षे कार्यकाल पूरा गरी प्रचण्डलाई सरकार सम्पने बताएका छन्। यस्तै अन्तिमको एक वर्ष नेपालले सरकारको नेतृत्त्व गर्ने वैकल्पिक पाटोमा पनि छलफल भइरहेको छ।

यता सत्ता गठबन्धनबाट ठोस सहमति हुन नसक्दा गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादी केन्द्र दुवैले एमालेसँग मिलेर सरकार बनाउने भन्दै एकअर्कालाई घुर्क्याइरहेका छन्।

दुवै दलका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक भेटवार्ता गर्दै आएका छन्।

केही बेरअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ वार्ता भइरहँदा अध्यक्ष नेपाल प्रवेश गरेका थिए।

पुष १०, २०७९ आइतबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।