टिभी कलाकार तुनिषा शर्मा आत्महत्या प्रकरणमा को-स्टार शीजान खान पक्राउ
एजेन्सी: भारतीय टिभी कलाकार तुनिषा शर्माको आत्महत्या प्रकरणमा उनकै को-स्टार शीजान खान पक्राउ परेका छन्। शीजानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ।
तुनिषाको परिवारको जाहेरीका आधारमा प्रहरीले शीजानलाई पक्राउ गरेको हो। उनलाई आज अदालतमा पेश गरिने भएको छ। शीजान र तुनिषा एकअर्कासँग प्रेम सम्बन्धमा रहेको हल्ला चलेको थियो। तर दुवैले यो सम्बन्धलाई पुष्टि गरेका थिएनन्।
यता मृतक तुनिषाको पोस्टमोर्टम भइसकेको छ। तर रिपोर्ट भने सार्वजनिक गरिएको छैन। शनिबार शुटिङ सेटमै तुनिषा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
शीजानमाथि आरोप चाहिँ तुनिषाकी आमाले लगाएकी हुन्। उनले आफ्नो छोरी शीजानबाट दिक्क भएर आत्महत्या गरेको बताएकी थिइन्।
भारतीय प्रहरीले घटनालाई आत्महत्या र हत्या दुवै पक्षबाट अनुसन्धान गरिरहेको छ।
२० वर्षीया तुनिषा एक म्युजिक भिडियोको शुट गर्नेवाला थिइन्। तर त्यति नै बेला सेटमै उनलाई झुण्डिएको देखेपछि हतार हतार अस्पताल लगिएको थियो। तर बाटोमै उनको मृत्यु भएको हो।
आत्महत्याको ५ घण्टाअघिसम्म पनि उनी एकदमै सामान्य अवस्थामा रहेको बताइएको छ। उनले इन्स्टाग्राममा आफ्नो फोटोसहित पोस्ट शेयर गरेकी थिइन्।
उनले आफ्मो मृत्युको केही घण्टाअघि लेखेकी थिइन्, 'जो आफ्नो लक्ष्य लिएर अघि बढ्छन् उनीहरू रोकिँदैनन्।'
फिल्म 'फितूर'मा तुनिषाले कटरिना कैफको बाल्यकालको भूमिका निभाएकी थिइन्। यस्तै 'अलीबाबा दास्ताने काबुल'मा पनि महत्त्वपूर्ण भूमिकामा देखिएकी थिइन्। 'बार बार देखो', 'कहानी २' र 'दबङ ३' जस्ता फिल्ममा पनि उनी देखिएकी थिइन्।
पुष १०, २०७९ आइतबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।