बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन
तस्बिर: बुद्ध एयर

काठमाडौं: बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्त्वदायी भूमिका निर्वाह गरेका स्व. बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानून, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए।

उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि भएका थिए। ७० वर्षको उमेरमा उनले बुद्ध एयर स्थापना गरेका थिए। स्व. बस्नेतका दुई छोरा र एक छोरी छन्।

जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक छन्।

पुष १०, २०७९ आइतबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।