नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै, छलफलमा सत्ता गठबन्धन

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै, छलफलमा सत्ता गठबन्धन

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदैछ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते दलहरूलाई एक साताको समय दिएकी थिइन्।

सत्ता गठबन्धनका दलहरूले आफ्नै नेतृत्त्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन्। त्यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन्।

गठबन्धनको नेतृत्त्वकर्ता कांग्रेसले आफ्नै नेतृत्त्वमा नयाँ सरकार गर्नका लागि पहल गरिरहेको छ। यस्तै माओवादी केन्द्रले समेत प्रधानमन्त्रीमा दावी गरेको छ।

आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा गठबन्धनका शीर्षनेताहरूबीच बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी थिइन्।

हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधि सभाका २७५ सिटमध्ये कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

पुष १०, २०७९ आइतबार ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।