बुटवलमा पनि घन्कियो नेपथ्य, अब पोखरामा प्रस्तुति दिने

बुटवलमा पनि घन्कियो नेपथ्य, अब पोखरामा प्रस्तुति दिने
तस्बिरहरू: दिपित राज र नेपालय

काठमाडौं: साङ्गीतिक ब्याण्ड नेपथ्यले बुटवलमा उल्लेख्य सङ्ख्यामा उपस्थित दर्शकका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ। तीन साताअघि सुरुभएको लोकरक ब्याण्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी बुटवलस्थित ‘रामनगर खेलमैदान’मा आयोजना भएको थियो।

ब्याण्डले पहिलो प्रस्तुतिका रूपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो। बुटवलमा यसअघि नेपथ्यले सात पटक आफ्नो प्रस्तुति दिइसकेको थियो। त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीन पटक प्रस्तुति दिइएको थियो।

विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतपछि यसपटकको श्रृङ्खलामा यो आठौँ प्रस्तुति थियो।

७० सदस्यीय टोली वीरेन्द्रनगर सुर्खेतबाट आइपुग्दैगर्दा ब्याण्डका सदस्यहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले होटलको ढोकामै फूलमालासहित स्वागत गरेका थिए।

‘नेपथ्यलाई मनोरञ्जनका हिसाबले मात्र बुझिनु अधुरो हुनजान्छ,’ स्वागतपछिको औपचारिक समारोहमा नगरप्रमुख पाण्डेले भनेका थिए, ‘यो ब्याण्ड हाम्रो नेपाली पहिचान र संस्कृतिको योद्धा पनि हो।’

शनिबार बेलुकी नेपथ्यको कन्सर्टमा पनि नगरप्रमुख पाण्डेले सुरुदेखि अन्तिमसम्मै सहभागिता जनाएका थिए।

ब्याण्डका गायक अमृत गुरुङले उपस्थित श्रोता दर्शकलाई आन्तरिक पर्यटकका रूपमा घुमेर आफ्नो मुलुकलाई चिन्न अनुरोध पनि गरेका थिए। कार्यक्रम अवधिभर गायक गुरुङले बारम्बार मानवसेवा आश्रमको उद्देश्यबारे पनि बोलेका थिए।

घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए।

सङ्गीतका साथै मानवता प्रवर्द्धनकालागि नेपथ्यको यो श्रृङ्खलाबद्ध कन्सर्टले बुटवलमा लगातार आठौँ सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे। ‘बुटवलमा सडकमा आश्रित आमा बुवाहरुलाई व्यवस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौँ,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौँ।’

बुटवलमा आश्रमको आफ्नै भवन बनाउने काम सुरुभइसकेको छ भने केहि महिनामै सम्पन्न हुनेगरी यसले अन्तिम स्वरूप लिइरहेको छ।

मानवसेवा आश्रमकै आयोजनामा पोखरामा पुस १२ गते नेपथ्य पुनः प्रस्तुत हुँदैछ।

पुष १०, २०७९ आइतबार ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।