सत्ता गठबन्धनकाे बैठकपछि कार्कीले भने– ‘प्रधानमन्त्रीको कुरा गौण हो, भोलि निर्णय सुनाउँछौं’
काठमाडौं : नयाँ सरकार गठनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुङ्गिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले नयाँ बन्ने प्रधानमन्त्रीको टुङ्गो लगाउन नसकेपछि आइतबार विहानै बस्ने गरी सकिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारका प्रवक्ता एवम् सञ्चार‚ सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार विहान बस्ने बैठकले प्रधानमन्त्रीको नाम टुङ्ग्याउने बताएका छन्।
मन्त्री कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने र प्रधानमन्त्री को पहिले बन्ने भन्नेबारे आइतबारको बैठकले टुङ्गो लगाउने बताए।
‘जनताको अभिमतको सम्मान गर्दै अघि बढ्नेमा हामी सहमतिमा पुगेका छौँ। बैठक भोलि फेरि बस्नेछ। भोलि हामी निर्णय सुनाउनेछौँ,’ उनले भने, ‘प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो। मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढाउनु ठूलो कुरा हो। गठबन्धनकै नेतृत्वमा सरकार बन्छ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन्।
पुष ९, २०७९ शनिबार २०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।