बालगायक सचिन परियारको स्वाथ्यमा सुधार

बालगायक सचिन परियारको स्वाथ्यमा सुधार

काठमाडौं : ‘के छ हजुर?’ भनेर चर्चामा आएका बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ।

हातखुट्टा दुख्ने र नचल्ने भएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न डा. सूर्य बहादुर थापालाई उद्धृत गर्दै उनीनिकट पत्रकार कमल सरगमले जानकारी दिए।

‘सचिन हल्का बोल्नसक्ने भएका छन्,’ उनले भने, ‘तर, उनका शरीरका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’

बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।

खर्चको अभावमा उपचार हुन नसकेपछि उनको उपचारका लागि अहिले लाखौं रकम जम्मा भइरहेको छ। केही समयअघि चर्चित टेलिशृङ्खला मेरी बास्सैमा समेत अभिनय गरेका सचिनले नेपालका चर्चित कलाकारहरूसँग पनि काम गरेका छन्।

एक समय युट्युबदेखि टिकटकसम्म छाएका थिए उनी। भाइरल हुने क्रममा उनले गुणस्तरीय शिक्षा पनि हासिल गर्ने अवसर पाए पनि न उनी अभिनयमा देखिन थाले न त विद्यालयमा नै।

युट्युबमा लिइएको एक अन्तरवार्तामा उनलाई प्रश्नकर्ताले ‘के छ खबर’ भनेर सोध्दा जवाफमा उनले मस्किँदै भन्छन्, ‘ठिक छ हजुर, अनि के छ हजुरको खबर?’

पुष ९, २०७९ शनिबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।