ओमरजाइको बिस्फोटक ब्याटिङले काठमाडाैंकाे विजयी सुरूवात

ओमरजाइको बिस्फोटक ब्याटिङले काठमाडाैंकाे विजयी सुरूवात

काठमाडौं : अजमतुलाह ओमरजाइको बिस्फोटक ब्याटिङले शनिबारबाट सुरु भएको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले विजयी सुरुवात गरेको छ।

काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। १९ ओभरमा घटाइएको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफमा पोखरा ७ विकेट गुमाएर १ सय ३६ रनमा समेटियो।

पोखराका लागि उपुल थरङ्गाले ४४ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनीबाहेक अभिमन्यु मिथुनले १८ रन बनाए।

त्यस्तै, आरिफ शेखले २० रन बनाउँदा अमिर हम्जाको १८ रन बनाए पनि टिमको हार टार्न सकेनन्। काठमाडौंका लागि अभिनास बोहराले ३ विकेट लिँदा बसिर अहमेदले २ तथा अनिल खरेलले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंका लागि सातौं नम्बरमा ब्याटिङका लागि आएका अजमतुलाह ओमरजाईले ४२ बल खेलेर सर्वाधिक ८५ रनको नटआउट इनिङ खेलेका थिए। अफगानिस्तानबाट लिग खेल्न आएका उनी म्यान अफ द म्याचसमेत घोषित भए।

उनीबाहेक एलेक्स ब्लेकले २१ रन बनाउँदा भिरनदीप सिंहले १० रन बनाएका थिए। पोखराका लागि प्रतिश जिसी र जाहिर खानले समान २–२ विकेट लिएका थिए। 

पुष ९, २०७९ शनिबार १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।