भारतमा तीर्थयात्रु बोकेको कार ४० फिट तल खस्दा आठ जनाको मृत्यु, दुई जना घाइते

भारतमा तीर्थयात्रु बोकेको कार ४० फिट तल खस्दा आठ जनाको मृत्यु, दुई जना घाइते

एजेन्सी: भारको तमिलनाडुको थेनी जिल्लामा तीर्थयात्री सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। नौ वर्षीय बालकसहित दुई जना सोही दुर्घटनामा घाइते भएका छन्।

कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो। अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका १० अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो।

उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो। "थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ," थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताए। उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन्।

उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन्। गम्भीर घाइते भएका उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। दुर्घटनाबारे अनुसन्धान जारी छ।

पुष ९, २०७९ शनिबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।