अवस्था ठिक नभएका १८ वटा सवारीका चालकलाई कीर्तिपुरमा कारबाही
काठमाडौं : कीर्तिपुरमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका १८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीद्धारा गरिएको १०७ ओटा सवारी साधन चेकजाँचका क्रममा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गरिएको हो।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँचका लागि टोली आज कीर्तिपुरमा खटिएको थियो।
आफ्नो सवारी साधनको अवस्था ठिक भएमा मात्रै सवारी साधन चलाउन यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ।
पुष ८, २०७९ शुक्रबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।