मानव बेचबिखन अभियोगमा दुई जना चिनियाँ पक्राउ, नेपाली नागरिकलाई लाओस पुर्याएर गैरकानुनी काममा लगाएकाे देखियाे
काठमाडाैं। नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ। प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज (शुक्रबार) पक्राउ गरिएको जानकारी दिएको हाे।
उनीहरुले तीन जना नेपाली नागरिकलाई प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए। उनीहरूले ती नेपालीलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुने लाेभ देखाएका थिए।
तर लाओस पुर्याएपछि नेपाली नागरिकलाई गैरकानुनी काममा लगाएकाे पाइएकाे छ। त्यसैगरि, दुई महिना काम लगाएपछि पैसा दिनुकाे सट्टा पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिइएकाे थियाे। यस अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए।
उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौ. ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो।
निजहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय सुनधारामा चलान गरिएको छ।
पुष ८, २०७९ शुक्रबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।