स्वच्छ पत्रकारिताले मात्र राष्ट्रप्रतिको दायित्व पूरा हुन्छ : राष्ट्रपति भण्डारी

स्वच्छ पत्रकारिताले मात्र राष्ट्रप्रतिको दायित्व पूरा हुन्छ : राष्ट्रपति भण्डारी

सुर्खेत : राष्ट्रप्रति विद्यादेवी भण्डारीले स्वच्छ पत्रकारिताले मात्र राष्ट्र र समाजप्रतिको दायित्व पूरा हुने बताएकी छन्।

शुक्रबार नेपाल पत्रकार महासंघको सुर्खेतमा आयोजित केन्द्रीय साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न सुझाव दिइन्।

पत्रकारले सूचना प्रवाह गर्दा तथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको छ कि छैन भनेर विचार गर्नुपर्ने उनले बताइन्।

अनलाइन र सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिएको भन्दै राष्ट्रपति भण्डारीले पत्रकारिता क्षेत्रको कानून निर्माण, सुरक्षा र रोजगारी तथा व्यावसायिक विकासमा जिम्मेवार निकायलाई ध्यान दिन ध्यानाकर्षण गराइन्।

राष्ट्रपति भण्डारीले सूचनाको हक र प्रेस स्वतन्त्रतालाई संविधानले नै प्रत्याभूत गरेकाले प्रेसलाई अंकुश लगाउने तथा संकुचित पार्ने काम गर्न नहुने विचार व्यक्त गरिन्।

साधारण सभामा स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट गरी करीब ७०० प्रतिनिधिको सहभागिता रहेको छ।

पुष ८, २०७९ शुक्रबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।