निहिता विश्वास भन्छिन्- शोभराजकाे वकिल भएर पनि मलाई भित्र जान दिइएन, अध्यागमनमा सेक्युरिटी पुगेन

निहिता विश्वास भन्छिन्- शोभराजकाे वकिल भएर पनि मलाई भित्र जान दिइएन, अध्यागमनमा सेक्युरिटी पुगेन

काठमाडौं। चार्ल्स शोभराजकाे आधिकारिक वकिल भएकाे बताउने कानुनविद् निहिता विश्वासले अध्यागमन विभागमा सेक्युरिटी नपुगेकाे बताएकी छिन्। सिरियल किलरको रुपमा विख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज केन्द्रिय कारागारबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ।

अध्यागमन विभाग अगाडी पत्रकारहरूसँग कुरा गर्दै विश्वासले अध्यागमनमा सुरक्षाकाे कमी भएकाे बताइन्। 

‘वास्तवमा हिजो एकदिन बढी कारागारमा राख्नुपनि गैरकानूनी हो। कारागारले हिजै छोड्नुपर्ने थियाे, विभिन्न कारण देखाएर छोडेन। अहिले पनि मलाई  भित्र जान दिइएन,अध्यागमनमा सेक्युरिटी पनि पुगेन।’ उनले भनिन्।

उनले आफू शाेभराजकाे आधिकारिक वकिल भएकाे बताइन्। शाेभराजसँगै अध्यागमनमा प्रवेश गरेका गाेपाल शिवाकाेटी उनकाे आधिकारिक अधिवक्ता नभएकाे उनकाे धारणा छ।

निहिता शाेभराजकाे श्रीमतीको रूपमा चर्चित थिइन्। शाेभराजकाे केन्द्रीय कारागारमै रहँदा निहितासँग विवाह भएको सार्वजनिक भएको थियो। शाेभराजसँग उनको नाम जोडिएपछि उनी अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्न सफल भएकी थिइन्। तर पछिल्लो समय यी दुवैको सम्बन्ध बिग्रिएको दाबीहरू सार्वजनिक भएका थिए।

२०३२ पुसमा भक्तपुरको मनोहरा खोलानजिकै शव फेला परेको कोन्नी जो ब्रोन्जीचको हत्या अभियोग पुष्टिसँगै उनलाई २०८० सम्मको कैद सजाय सुनाइएको थियो। त्यसभन्दा अगाडि नै शोभराजले हेनरिकस विन्ताजाको लरेन्ट आरमण्डको हत्या अभियोग पुष्टि गर्दै २०६१ साउनमा काठमाडौँ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

उनलाई गैर कानुनी रूपमा थुनामा राखेको दाबी गर्दै गोपाल सिवाकोटी चिन्तनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। सो रिटमा निहिता विश्वास, उनको सासू शकुन्तला थापा, उनको नियमित कानुनी सहयोगी लोकभक्त राणा र रामबन्धु शर्माले बहस गरेका थिए।

उनी तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै नेपाली कारागारमा कैद थिए। हत्या अभियोगमा करिब दुई दशकदेखि केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो।

अध्यागमन विभागले शोभराजलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने (डिपोर्ट गर्ने) तयारी गरेकाे छ। शोभराजले भने मुटुको उपचार गराउनको लागि भनेर केही समय नेपालमै बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बताइएको छ। 

पुष ८, २०७९ शुक्रबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।