अध्यागमनभित्र शोभराज, निहितालगायत अन्य पर्यटकलाई समेत भित्र जान दिइएन

अध्यागमनभित्र शोभराज, निहितालगायत अन्य पर्यटकलाई समेत भित्र जान दिइएन

काठमाडौं: कुख्यात अपराधी चार्ल्स शोभराजलाई अध्यागमन विभागभित्र लगिएको छ। आज सुन्धारास्थित कारागारबाट रिहा भएका शोभराजलाई थुनामुक्त भएपछि अध्यागमन विभाग लगिएको हो।

'बिकिनी किलर' उपनामले कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज करिब दुई दशक कारागारमा कैद भुक्तान गरेर बुधबार सर्वोच्चको आदेशपछि आज थुनामुक्त भएका हुन्। 

उनी हाल अध्यागमन विभागको जिम्मामा छन्। विभागबाहिर उनका वकिल, श्रीमती भनेर चिनिएकी निहिता विश्वासलगायत छन्। उनीहरूलाई भित्र जान दिइएको छैन। शोभराजसँग पनि भेट गर्न दिइएको छैन।

उनी मात्र नभएर अन्य पर्यटकलाई पनि अध्यागमन विभागभित्र जान दिइएको छैन।

हिजै छोड्नुपर्ने भए पनि विभिन्न कारण देखाएर शोभराजलाई नछोडिएको र हाल पनि आफूहरूलाई भित्र छिर्न नदिइएको भन्दै निहिताले विरोध गरिरहेकी छिन्। यस्तै शोभराजको सुरक्षामा पनि कमी भएको उनले आरोप लगाएकी छिन्।

यता निहिताले आफू शोभराजसँग फ्रान्स पनि नजाने बताएकी छिन्। आफ्नो केही काम भएको भन्दै उनी नेपालमै हुने भएकी हुन्।

अध्यागमन विभागले शोभराजलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने (डिपोर्ट गर्ने) तयारी गरेकाे छ। शोभराजले भने मुटुको उपचार गराउनको लागि भनेर केही समय नेपालमै बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बताइएको छ। 

शोभराज ७८ वर्षका भइसकेका छन्। बुधबार भएको फैसलामा ६५ वर्ष उमेर पुगेका कैदीका हकमा चालचलन हेरेर ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहेको र विदेशी नागरिकको हकमा समेत सो कानून आकर्षित हुने उल्लेख गरिएको छ।

यसैगरी ओछ्यान पर्ने रोग लागेका कैदी बन्दीको हकमा समेत कैद छुट हुने कानूनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको फैसलामा उल्लेख छ।

चार्ल्स तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै नेपाली कारागारमा थिए। बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई कारागारमुक्त गर्न आदेश नआएको भए उनी २०८० असोज १ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।

पुष ८, २०७९ शुक्रबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।