प्रतिनिधि सभा सदस्य यादव र राईले लिए शपथ, दुई जना बाँकी
काठमाडौं: नवनिर्वाचित सांसदहरूले हिजो पद तथा गोपनीयताको शपथ लिँदा चार जना छुटेका थिए। छुटेका मध्ये सांसदद्वय महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ समारोहमा संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो। प्रतिनिधि सभाका २७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादवले उमेरका कारण र राईले हवाइजहाज छुटेका कारण शपथ लिन पाएका थिएनन्।
प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० गरी २७५ सांसद छन्। अब अझै दुई सांसदले शपथ लिन बाँकी छ।
सांसदद्वय प्रेम आले मातृशोकमा भएको र माया राई सुत्केरी भएका कारण शपथ लिन पाएका छैनन्। उनीहरूले उपयुक्त समयमा शपथ लिनसक्ने सचिवालयले जनाएको छ।
पुष ८, २०७९ शुक्रबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।