प्रचण्डलाई दोस्रो कार्यकालमा प्रधानमन्त्री बनाउने प्रकाशमानको प्रस्ताव, जनार्दन र देउवाबीच छलफल जारी

प्रचण्डलाई दोस्रो कार्यकालमा प्रधानमन्त्री बनाउने प्रकाशमानको प्रस्ताव, जनार्दन र देउवाबीच छलफल जारी

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो कार्यकालमै प्रधानमन्त्री पाउनुपर्ने दावी गरेपछि यतिबेला सत्ता गठबन्धनमा नेता फकाउन दौडधूप चलेको छ। आज बिहानै कांग्रेस नेता प्रकाशमान सिंहले प्रचण्डसँग भेट गरेका थिए भने हाल प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी नेता जनार्दन शर्मा छलफलमा छन्।

शुक्रबार बिहान भएको प्रचण्ड र प्रकाशमानबीचको भेटमा सरकार गठनबारे छलफल भएको थियो। प्रकाशमानले प्रचण्डलाई दुई वर्ष प्रधानमन्त्रीमा दावी नगर्न र पछिल्लो तीन वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर, पहिलो कार्यकालमा प्रधानमन्त्री नपाए पछि पनि नपाइने भन्दै प्रचण्ड अडिग बसे।

त्यसमाथि चुनावी सरकारको नेतृत्त्व देउवाले गरिसकेको प्रचण्डको तर्क थियो।

बाम लोकतान्त्रिक गठबन्धन गरेर निर्वाचन होमिएका कांग्रेस र माओवादीसहित अन्य दलबीच गठबन्धनकै सरकार बनाउने सहमति भए पनि को प्रधानमन्त्री बन्ने भन्ने विषय टुङ्गिएको छैन।

पहिलो कार्यकाल प्रधानमन्त्री नपाए प्रचण्डले एमालेसँग तालमेल गर्नसक्ने सङ्केत पनि दिइसकेका छन्।

यता कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र माओवादी नेता शर्माबीच बालुवाटारमा छलफल जारी छ। छलफलमा प्रकाशमान पनि छन्।

राष्ट्रपतिले सरकार गठनका लागि दावी गर्न भन्दै आइतबार साँझ ५ बजेसम्मको म्याद दिएकी थिइन्। म्याद सकिनैलाग्दा नेताहरूको दौडधूप तीव्र भएको छ।

पुष ८, २०७९ शुक्रबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।