केन्द्रीय कारागारबाट छुटे शोभराज, अब अध्यागमनकाे जिम्मा
काठमाडौं। सिरियल किलरको रुपमा विख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागारबाट मुक्त भएका छन्। सर्वोच्च अदालतकाे बुधबारकाे आदेशअनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका उनलाई अध्यागमन विभागको जिम्मा लगाइएकाे छ।
अध्यागमन विभागले शोभराजलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने (डिपोर्ट गर्ने) तयारी गरेकाे छ। शोभराजले भने मुटुको उपचार गराउनको लागि भनेर केही समय नेपालमै बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बताइएको छ।
शोभराज ७८ वर्षका भइसकेका छन्। बुधबार भएको फैसलामा ६५ वर्ष उमेर पुगेका कैदीका हकमा चालचलन हेरेर ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहेको र विदेशी नागरिकको हकमा समेत सो कानून आकर्षित हुने उल्लेख गरिएको छ।
यसैगरी ओछ्यान पर्ने रोग लागेका कैदी बन्दीको हकमा समेत कैद छुट हुने कानुनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको फैसलामा उल्लेख छ।
चार्ल्स तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै नेपाली कारागारमा थिए। बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई कारागारमुक्त गर्न आदेश नआएको भए उनी २०८० असोज १ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।
पुष ८, २०७९ शुक्रबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।