केही समय नेपालमै बस्न दिन शोभराजकाे अनुराेध, फेरि आउन नपाउने गरी फ्रान्स ‘डिपोर्ट’ गर्ने तयारी
काठमाडाैं। सिरियल किलरकाे रुपमा विख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज (शुक्रबार) कारागारबाट मुक्त भएका छन्। हत्या अभियोगमा करिब दुई दशकदेखि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए।
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गर्न १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएकाे थियाे। उक्त आदेशअनुसार उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएकाे छ।
अध्यागमन विभागले भने कारगारबाट रिहा भएपछि शोभराजलाई उनकै देश फ्रान्स पठाउने तयारी गरेको छ। अध्यागमन विभागका एक अधिकारीका अनुसार शोभराजलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने (डिपाेर्ट गर्ने) तयारी भैरहेकाे छ।
शोभराजले भने मुटुको उपचार गराउनकाे लागि भनेर केही समय नेपालमै बस्ने व्यवस्था मिलाइदिन अनुराेध गरेकाे बताइएकाे छ।
शोभराज ७८ वर्षका भइसकेका छन्। बुधबार भएको फैसलामा ६५ वर्ष उमेर पुगेका कैदीका हकमा चालचलन हेरेर ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहेको र विदेशी नागरिकको हकमा समेत सो कानून आकर्षित हुने उल्लेख गरिएको छ।
यसैगरी ओछ्यान पर्ने रोग लागेका कैदी बन्दीको हकमा समेत कैद छुट हुने कानुनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको फैसलामा उल्लेख छ।
शोभराजले ९५ प्रतिशत कैद भुक्तान गरिसकेको, कारागारमा उनको चालचलनबारे नराम्रो केही नदेखिएको र कारागारको वातावरण उनलाई राख्न उपर्युक्त नभएको भन्दै संयुक्त इजलासले बुधवारै केन्द्रीय कारागारमा रहेका शोभराजलाई मुक्त गरेर १५ दिनभित्रमा उनको देश पठाउने प्रबन्ध गर्न सरकारको नाममा आदेश दिएको छ।
चार्ल्स तीन विदेशी नागरिकको हत्याको अभियोग पुष्टिसँगै नेपाली कारागारमा कैद छन्। बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई कारागारमुक्त गर्न आदेश नआएको भए उनी २०८० असोज १ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।
२०३२ पुसमा भक्तपुरको मनोहरा खोलानजिकै शव फेला परेको कोन्नी जो ब्रोन्जीचको हत्या अभियोग पुष्टिसँगै उनलाई २०८० सम्मको कैद सजाय सुनाइएको थियो। त्यसभन्दा अगाडि नै शोभराजले हेनरिकस विन्ताजाको लरेन्ट आरमण्डको हत्या अभियोग पुष्टि गर्दै २०६१ साउनमा काठमाडौँ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
उनलाई गैर कानुनी रूपमा थुनामा राखेको दाबी गर्दै गोपाल सिवाकोटी चिन्तनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। सो रिटमा उनको तर्फबाट श्रीमतीको रूपमा चर्चित निहिता विश्वास, उनको सासू शकुन्तला थापा, उनको नियमित कानुनी सहयोगी लोकभक्त राणा र रामबन्धु शर्माले बहस गरेका थिए।
चार्ल्स केन्द्रीय कारागारमै रहँदा निहितासँग विवाह भएको सार्वजनिक भएको थियो। चार्ल्ससँग उनको नाम जोडिएपछि उनी अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बन्न सफल भएकी थिइन्। तर पछिल्लो समय यी दुवैको सम्बन्ध बिग्रिएको दाबीहरू सार्वजनिक भएका थिए।
केन्द्रीय कारागारले बिहीबार नै शोभराजलाई अध्यागमन विभागमा बुझाउने तयारी सक्काएको थियाे। तर, अध्यागमनमा उनलाई राख्न छुट्टै ठाउँको व्यवस्था गर्न समय लाग्ने भएकाले शुक्रवार मात्रै लैजाने बताइएकाे थियाे।
पुष ८, २०७९ शुक्रबार १२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।