फोहोर व्यवस्थापन नियमित भएको काठमाडौं महानगरको स्पष्टीकरण
काठमाडौं: काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन कार्य नियमित भएको स्पष्ट पारेको छ। आजदेखि काठमाडौंको फोहोर एक साता नउठ्ने शीर्षकमा समाचार प्रकाशन भएको भन्दै सो समाचार भ्रामक भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।
प्रवक्ता मानन्धरले भने, ‘फोहोर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन। जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन्। स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो।’
ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज बिहान मात्रै ११९ टिप फोहोर व्यवस्थापन भइसकेको छ। फोहोर बोकेका ट्रक साइटमा पुग्दैछन्।
साइटमा हाल व्यवस्थापनको काम चलिरहेको छ। श्रेष्ठका अनुसार साइटमा दैनिक दुई सय ट्रक पुग्ने गरेका छन्।
पुष ८, २०७९ शुक्रबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।