कर्णाली प्रदेश सभाका सांसद्को शपथ सोमबार
सुर्खेत : कर्णाली प्रदेशसभामा निर्वाचित सांसद्हरूको पद तथा गोपनीयताको शपथ सोमबार हुने भएको छ।
ज्येष्ठ प्रदेशसभा सदस्य विनोदकुमार शाहलाई प्रदेश प्रमुख तिलक परियारले सोमबार बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए।
उनका अनुसार ज्येष्ठ सदस्यलाई शपथका लागि उपस्थित गराइदिन प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ।
‘प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सोमबार बिहान साढे ११ बजे शपथका लागि खबर गरेका छौं,’ निमित्त सचिव थानीले भने, ‘प्रदेश प्रमुखज्यूबाट ज्येष्ठ प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहणपछि अन्य सदस्यहरूलाई शपथ ग्रहणको बाटो खुल्छ।’
सोही दिन दिउँसो तीन बजे प्रदेशसभा सचिवालयमा ज्येष्ठ सदस्य शाहले अन्य ३९ जना सांसदलाई शपथ गराउने छन्।
प्रदेशसभा सचिवालयले पनि सोही दिन दिउँसो तीन बजेका लागि नवनिर्वाचित प्रदेश सांसदहरूका लागि पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम प्रदेशसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य विनोदकुमार शाहबाट नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराइने प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।
प्रदेश सभा सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटोसहित शपथग्रहणको समयभन्दा दुई घण्टा अगाडि राष्ट्रिय पोशाक वा आ–आफ्नो संस्कृति, पहिचान झल्किने पोशाकमा उपस्थिति हुन सांसदलाई अनुरोध गरेको छ।
प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले शपथको व्यहोरा आफ्नो मातृ भाषामा अनुवाद गरेर प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।
पुष ७, २०७९ बिहीबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।