सांसद्को सपथग्रहणलगत्तै पाँच सरकारी निकायलाई सीके राउतको पत्र
काठमाडौं : प्रतिनिधिसभा सदस्य डा.सीके राउत सांसद्को सपथग्रहणलगत्तै पाँच वटा निकायलाई पत्र काटेका छन्।
बिहीबार सपथग्रहणपछि उनले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको स्वास्थ्य सेवा दयनीय रहेको भन्दै सेवा सुधारबारे स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन्।
अस्पतालमा सामान्य किसिमको स्वास्थ्य समस्या भएका बिरामीको समेत उपचार हुन नसकी रेफरल सेन्टरको रूपमा परिणत भएको भन्दै उनले सरकारले दिने निःशुल्क औषधिसमेत नभएको जानकारी गराएका छन्।
त्यस्तै, राउतले सप्तरीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महाननिर्देशकलाई, राजविराजमा हवाइ उडान बढाउन र नियमित गर्न पर्यटन मन्त्रालयका सचिवलाई, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई प्रभावकारी तरिकाले सुचारु गर्न उद्योग मन्त्रालयका सचिवलाई र किसानको लागि थप मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकलाई पत्र काटेको हो।
उनले भनेका छन्, ‘स्मरण रहोस् सडक, सदन र सरकार तीनवटै मोर्चाबाट हाम्रो संघर्ष जारी रहनेछ। जनताको माग पूरा गराउन हामी प्रतिबद्ध छौं।’
पुष ७, २०७९ बिहीबार २१:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।