कानून छक्क्याउन खप्पिस चार्ल्सले नपत्याएको त्यो कमजोर प्रमाण, जसले उनलाई १९ वर्ष जेल पुर्यायो
काठमाडौं : २०३३ पुस ३ गते तत्कालीन सोल्टी ओभराय होटेलमा बसेका एलेन गुटिएर र २०६० असोज ३१ काठमाडौंमा पक्राउ परेका चार्ल्स शोभराज गुरुमुख एकै व्यक्ति हुन् भन्ने प्रमाण केही थिएन प्रहरीसँग। २०३२ सालमा नेपालमा भएका २ विदेशी नागरिकको हत्या गरी फरार रहेका भनिएका चार्ल्स रोयल क्यासिनोमा पक्राउ परेका थिए।
चार्ल्सबारे सो समयमा अनुसन्धान गरेका गणेश केसीका अनुसार तत्काल उनलाई हिरासतमा राख्ने प्रमाण केही नभएपछि अध्यागमन कानून अनुसार हिरासतमा राखेर मिसिल खोज्ने काम भएको थियो।
एक साता लामो खोजीमा २०३४ असार १४ मा तामेलीमा रहेको मिसिल फेला परेपछि प्रहरीले पूरक अनुसन्धान प्रतिवेदन सहित चार्ल्सलाई २०६० असोज ३० गते अदालतमा बुझाएको थियो। उनीमाथि कोन्नी जो ब्रोन्जिचको हत्या गरेको अभियोग थियो।
प्रहरीले एलेन गुटिएर र हेनरिक्स विन्टाजा भनिने व्यक्ति चार्ल्स नै रहेको र उनी २०३२ पुस ३ गते नेपाल आएर विदेशी नागरिकको हत्या गरी फरार भएको दाबी गरेको थियो। तर चार्ल्सले निरन्तर अभियोग अस्वीकार गरिरहे।
उनले आफू पहिलोपटक नेपालमा २००३ सेप्टेम्बर १( २०६० भदौ १५) मा नेपाल आएको र त्यसभन्दा अगाडि कहिल्यै नेपाल नआएको दाबी गरिरहे। उनले आफूले एलेन गुटिएर वा हेनरिक्स विन्टाजाको नामको पासपोर्ट कहिल्यै प्रयोग नगरेको दाबी गरेका थिए।
जबकि अभियोगमा उनी २०३२ पुस ३ मा नेपालमा आएर होटेल मल्ल र तत्कालीन सोल्टी ओवरायमा बसेर हत्यापछि प्रहरीले अनुसन्धान सुरु गर्दा सोल्टीको कोठाबाट भागेको दाबी गरिएको थियो।
योसँगै प्रमाणका रूपमा त्यो बेलाको घटनास्थलको मुचुल्का, जाहेरी,चाल्सको आत्मकथा, भारत र थाइल्यान्डको पत्रिकामा चाल्सबारे प्रकाशित समाचार पेस गरेको थियो। तर, बयान लगायतका दाबीले चार्ल्स २०३२ मा नेपाल आएको पुष्टि गर्न सक्दैनथ्यो।
प्रमाणमा रहेको कमजोरीबारे चार्ल्स जानकार नहुने कुरै भएन। उनले आफू डकुमेन्ट्री मेकर भएको र त्यसैको सिलसिलामा सन् २००३ मा पहिलो पटक नेपाल आएर रोयल क्यासिनोमा गएको बेलामा पक्राउ परेको बयानमा कायम रह्यो।
उनले नेपाली दूतावाससँग अनुरोध गरेर डकुमेन्ट्रीका लागी नेपाली हस्ताकलाको अध्ययन र अनुसन्धान गर्न नेपाल आएको दाबी गरिरहे।
सरकारी पक्षका लागि सबैभन्दा ठूलो चुनौती नै २०३२ सालमा चाल्स नेपालमा आएर कोनि जो ब्रोनिचको हत्या गरेर भागेको प्रमाण जुटाउनु थियो। तत्कालीन एसपी चन्द्रवीर राईको बयान, कोन्नी घुम्न प्रयोग भएको सेतो कारमा भियतनामी अनुहारका व्यक्ति रहेको भन्ने कार चालक पूर्णबहादुरको बयानले मात्रै चार्ल्स २०३२ मा नेपालमा आएको पुष्टि गर्न सक्दैनथ्यो।
पूर्ण बहादुरको बयानमा कोन्नी घुम्न जान गोर्खा ट्राभल्सको गाडी प्रयोग भएको र सोल्टी होटेलमा बस्ने 'डज' भन्नेले गाडी चलाएकोसम्म खुल्यो। अनुसन्धानमा लरेन्ट २०३२ पुस ६ मा बैंकक गएको देखियो।
२०३२ जेठ ३ गते मनोहराको किनारामा कोन्नीको शव डढेको अवस्थामा फेला परेको थियो।
'टाउको पश्चिम, गोडा उत्तानो परेको, कपालको रौंहरू डढेको, टाउकोदेखि पातलैसम्म डढेको, आँखा चिम्लिएको, नाकको दाहिने प्वालबाट रगत निस्किएको,' घटनास्थलको मुचुल्कामा लेखिएको छ, 'पूरै शरीरको भाग नाङ्गो, दुवै दूधको मुन्टा नदेखिएको, मुटुको भागनिर ४ वटा छुरी रोपेको अनि योनीको भाग पूरै डढेको।'
हातको औँठी, ब्रासलेट र कानको मुन्द्रीको आधारमा ओरियन्टल लजमा कोन्नीसँगै बसेकी कृप्टी एम म्याकमिलनले सो शव कोन्नीको भएको सनाखत गरेकी थिइन्। त्यो बेलासम्म लरेन्ट बेपत्ता नै थिए।
भाडाको कारमा गोल्डेन फ्रेम सहितको कालो सिसा भएको चस्मा, जिन्सको टोपी र निलो रङ्गको पाइन्ट बरामद भएको थियो। कोन्नीको साथीहरूको बयानमा उनी सोल्टी होटेलमा बस्ने भियतनामी जस्तो देखिने व्यक्तिसँग भेट्ने गरेको खुलेपछि प्रहरी सो होटेलमा पुगेको थियो। होटेलमा थाइमुलका कोही पर्यटक फेला परेनन्। हिन्द चिन मूलका देखिने एक युवक र युरोपियन देखिने एक युवती फेला परे।
सोल्टीको कोठा नम्बर ४१५ मा बसेका उनीहरूमध्ये युवकले आफ्नो नाम विन्ताजा हेनरिकस भएको बताएका थिए भने युवतीले कुकी हेमकर बताएकी थिइन्। यी दुवै बैंकक जाने तयारीमा रहेको देखिएपछि प्रहरीले सात दिन रोक्यो। अनि उनीहरू बस्ने होटेल कोठामा प्रहरी निगरानी बढायो।
लरेन्ट फेला नपरेकाले कतै उनले नै कोन्नीको हत्या गरेर भागेको हो कि भन्ने शङ्का यथावत् थियो। उनी बैंकक गएको अध्यागमनको रेकर्डले देखायो। तत्कालीन प्रहरी नायव निरीक्षक नन्दराम श्रेष्ठले कोन्नीलाई मारेर लरेन्ट भागेर बैंकक गएको भन्ने प्रतिवेदन पेस गरे। तर २०३२ पुस ६ मा भक्तपुरको साँगामा पुरुषको शव फेला पर्यो जुन लरेन्टको थियो।
२८ डिसेम्बरमा प्रहरीले होटेल सोल्टीको ४१५ नम्बर कोठामा ढकढक गर्दा कोही नबोलेपछि ढोका फोडेर हेर्दा त्यहाँ कोही थिएनन्। झ्याल खुल्ला भएकाले त्यहीबाट भागेको निष्कर्ष निकालियो। कोठामा सुटकेस र कपडाहरू फेला परे।
कोठामा नाइलनको मनि ब्याग फेला परेको थियो। कोन्नीका दाजु एक क्यारियर नेपालमा आए। उनले कोठामा फेला परेको झोलादेखि कारमा बरामद भएको चस्मासम्म कोन्नीको भएको पुष्टि गरिदिए। त्यसले कोन्नीको हत्यामा संलग्न व्यक्ति सोल्टीको त्यही कोठामा बस्ने व्यक्ति संलग्न रहेको देखियो।
बैंककपोस्टको समाचारदेखि भारतको बयानसम्म
अनुसन्धानको सबैभन्दा जटिल पक्ष नै चार्ल्स २०३२ मा नेपालमा आएर होटेल सोल्टीको ४१५ मा बसेको पुष्टि गर्नु थियो। यता खोजे पनि उता खोजे पनि त्यो प्रमाण जुटाउनै कठिन। उनका आत्मकथा दाबी गरिएका केही पुस्तक अनि नवभारत टाइम्समा प्रकाशित एक समाचारले उनी २०३२ मै नेपालमा आएको स्वीकारेमा मात्रै थिएनन् कोन्नीको हत्याका विस्तृत विवरणै थियो। तर, चाल्सले सो पुस्तक झुटो हो भन्ने दाबी गरिसकेका थिए।
अनुसन्धान गर्दै जाँदा प्रहरीले एक यस्तो प्रमाण फेला पार्यो जसले चार्ल्स २०३२ सालमा नेपाल आएको पुष्टि गर्न सक्थ्यो।
कोन्नीको डायरीमा मिस्टर ए गुटिएर, कान्ती हाउस, बैंकक लेखिएको थियो। अनि होटेल सोल्टीको गेस्ट रजिस्टेशन कार्ड नम्बर ६४४९ मा एलेन गोटिएर लेखिएको थियो। सन् १९७५ डिसेम्बर २३ मा बैंककबाट सोही नाममा फर्किएका व्यक्तिले इमिग्रेसन कार्डमा भरेको विवरण अर्को प्रमाण भयो मुद्दामा।
अर्को प्रमाण बैंकक पोस्टको समाचारलाई बनाइयो। बैंककमा विदेशीहरू बस्ने गेस्ट हाउसमा नशालु पदार्थ खुवाएर जलाएर मारेको समाचार सार्वजनिक भयो। सन् १९७६ मे ७ र ८ मा बैंकक पोस्टमा प्रकाशित समाचारमा एलेन गोटिएर,मोनिक लक्लर्क अनि भारतीय नागरिक अजय चौधरीको नाम आएको थियो। उनीहरूको तस्बिरसमेत प्रकाशित भएको थियो। जुन तस्बिर उही चार्ल्सकै थियो।
भारतमा पक्राउ पर्दा लजपतनगर दिल्लीमा पक्राउ पर्दा चार्ल्सले दिएको बयानको प्रमाणित पत्र भारतको दिल्लीबाट इन्टरपोलको शाखा मार्फत नेपाल प्रहरीका श्यामभक्त थापाको नाममा पठाइयो। जसमा मोनिक, अजय र आफू बैंककबाट काठमाडौं आएर होटेल ओवरायमा बसेको, अजयले एक केटा र केटीको पासपोर्ट ल्याएर दिएपछि त्यही पासपोर्ट लिएर बैंकक-काठमाडौं गरिरहेको उल्लेख छ।
सँगै सेतोकार चलाइरहेको बेलामा प्रहरीले रोकेर प्रहरी कार्यालय लगेर केही सोधपुछ गरेको र काठमाडौं छाड्नु अगाडि प्रहरीलाई जानकारी गराउनु भनेर छाडेको, तीनै जना स्थलमार्गहुँदै भारत आएको उल्लेख थियो। तर, त्यसलाई चार्ल्सका वकिलले खेस्रा कागज भन्दै स्वीकार गर्न अस्वीकार गरेका थिए।
इन्टरपोल दिल्लीबाट चाल्सको तस्बिर र उसको औँठाछापसहितको विवरण समेत आएको थियो। औँठाछापको नमुना नेपालमा रहेका चार्ल्ससँग मिल्यो।
त्यो प्रमाण थियो होटेल मल्ल अनि तत्कालीन होटेल सोल्टी ओवरायको गेस्ट कार्ड। आखिर त्यही गेस्ट कार्डको आधारमा नै उनी २०३२ मा नेपाल आएको पुष्टि गर्ने प्रमुख आधार मान्यो अदालतले।
त्यो प्रमाण जसले जेल यात्रा गरायो
चार्ल्स अनि उनका वकिलहरूले उनी २००३ मा मात्र नेपाल आएको त्यो भन्दा अगाडि नेपालै नआएको भन्दै प्रतिवाद गरे पनि अदालतले अन्य प्रमाणलाई सहायक प्रमाणको रूपमा स्वीकार गर्दै एक प्रमाणलाई चार्ल्स पहिला पनि नेपालमा आएको मुख्य प्रमाणको रूपमा स्वीकार गर्दै उनलाई सर्वश्वसहित जन्मकैदको फैसला गर्यो।
त्यो प्रमाण थियो होटेल सोल्टी ओवराय र होटेल मल्लको गेस्ट रजिस्टेशनको अक्षर अनि विन्ताजाको नाममा बैंककबाट आउँदा अध्यागमनमा भरेको कार्डको अक्षर अनि सन् २००३ मा नेपाल आउँदा प्रयोग गरेको पासपोर्टको हस्ताक्षरको फरेन्सिक परीक्षण प्रतिवेदन।
चार्ल्स पक्राउ परेपछि प्रहरीले होटलको गेस्ट कार्डको खोजी गरेको थियो। घटनास्थलको मुचुल्का लगायत तत्कालीन होटेल ओवरायको गेष्टकार्डको तस्बिर खिचेर राखेको र सोही तस्बिरको आधारमा बनाइएको फोटोको आधारमा अदालतले २०६३ माघ १५ मा होटेल सोल्टीसँग गेष्टकार्डबारे सोधेको थियो।
होटेल सोल्टीले प्रहरीले उपलब्ध गराएको पुरानो गेस्ट कार्ड होटेल ओवरायको नाम हुँदा प्रयोग भएकै गेस्ट कार्ड रहेको पुष्टि गर्दै पत्र पठाएको थियो। पत्रमा ३१ वर्ष अगाडिको कार्ड खोज्दा फेला नपरेकाले तत्कालीन समयमै सबै नष्ट गरिएको हुनसक्ने उल्लेख गरिएको छ।
'होटेल सोल्टी ओवराय व्यवस्थापनको तत्कालीन अवधिमा काम गर्ने केही पुराना कर्मचारीलाई त्यहाँबाट प्रेषित कार्डको प्रतिलिपि, लोगो, फर्म भर्ने प्रकृति, अक्षरको लिपी ढाँचा आदी देखाइ सोध्दा उक्त ६४४९ नम्बरको कार्ड तत्कालीन होटेल सोल्टी ओवरायले सञ्चालनमा ल्याएको कार्ड भएको तथ्य खुलासा भएको ब्यहोरा अनुरोध छ' सोल्टीले अदालतमा पठाएको पत्रमा उल्लेख छ।
फरेन्सिक प्रतिवेदनमा यी अक्षरहरू एकै प्रकारको भएको प्रतिवेदन आयो। प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमा अक्षरको लेखाइको आधारमा यी अक्षरहरू एकै व्यक्तिको हुनसक्ने उल्लेख छ।
प्रतिवेदनमा अक्षरहरू लेख्दा बिचमा राखिएको ग्याप, अक्षर लेख्दाको शैली अझ विशेष गरी 'एस' को लेखाइको प्रकार, हस्ताक्षरको अन्त्यको प्रकार, अनि डटलाई आधार मानेर यी हस्ताक्षरहरू एकै व्यक्तिको हुनसक्ने निष्कर्ष निकालिएको थियो।
चार्ल्सका वकिलहरूले किर्ते गरेर गेस्ट कार्ड बनाएको दाबी गरिरहे। तर अदालतले स्वीकार गरेन। गेस्ट कार्डलाई चार्ल्स पहिला पनि नेपाल आएको मुख्य प्रमाणको रूपमा स्वीकार गर्दै चार्ल्सको आत्मकथा र त्यसमा समावेश चाल्सको एक पत्र, भारतमा पक्राउ पर्दा उनले दिएको बयान, बैंककमा भएको हत्याको प्रकृति अनि समाचारलाई आधार मान्दै उनलाई जन्मकैदको सजाय सुनायो।
उता जिल्ला अदालत भक्तपुरले पनि २०७० मा यही आधार टेक्दै उनलाई जन्मकैदको सजाय सुनायो। जन्मकैद भने पनि नेपालको कानूनअनुसार एकै व्यक्तिलाई २० वर्षभन्दा बढि कारागारमा राख्न मिल्दैन। सो अनुसार उनी २०८० असोज १ मा हत्याको कैद सजाय काटेर मुक्त हुने थिए।
तर बुधबार एकाएक सर्वोच्च अदालतले ७२ वर्ष पार भइसकेको, ९५ प्रतिशत कैद सजाय काटेको, ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी भएको अनि नेपालको कारागारमा रहेका विदेशी नागरिकको हकमा पनि नेपाली नागरिकलाई झैँ कानून आकर्षित हुने भन्दै तत्काल कारागारमुक्त गर्न आदेश दियो।
आदेशअनुसार उनी बिहीबार मुक्त हुनुपर्ने थियो। अदालती प्रक्रिया सबै सकिएर केन्द्रीय कारागारमा पत्र पनि पुग्यो। तर अध्यागमन विभागले उनलाई राख्ने ठाउँ छैन भन्दै बुझ्न नमान्दा चार्ल्सको बिहीबारको रात केन्द्रीय कारागारमै बित्नेछ।
चार्ल्सका स्टोरी
पुष ७, २०७९ बिहीबार २०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।