पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान

पोखरा : राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरलाइन्सले परीक्षण उडान गरेका छन्।

परीक्षणका क्रममा बिहीबार दुवै एयरलाइन्सले पुरानो पोखरा विमानस्थलबाट उडान गरेर अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नागरिक उडययन प्राधिकारणले यसअघि विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षणका लागि विशेष विमान ल्याएर क्यालिव्रेशन फ्लाइट (यान्त्रिक परीक्षण) सम्पन्न गरेको थियो।

क्यालिब्रेसन फ्याइटमा विमानस्थलमा जडित उपकरणले काम गरेको प्रतिवेदन दिएसँगै तयारी स्वरूप दुवै कम्पनीका एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका हुन्।

आगामी जनवरी १ देखि औपचारिक रूपमा विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरण(क्यान)ले तयारी थालिरहेको बेला परीक्षण उडान गरिएको हो।

प्राधिकरणले यसअघि यान्त्रिक परीक्षण, हवाइ उद्धार अभ्यास लगायतका काम पनि सम्पन्न गरिसकेकाले अब, विमानस्थलमा उडान सञ्चालनको प्रतिक्षा गरिरहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए।

चीन सरकारको २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा २०१७ नोभेम्बर १ देखि निर्माण थालेको यस विमानस्थल चिनियाँ कम्पनी सीएएमसीईले निर्माण सम्पन्न गरेको हो। २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

आयोजनाले पछि थप जग्गा अधिग्रहण गरेर तीन हजार ८ सय ९९ रोपनी जग्गामा विमानस्थल निर्माण गरेको हो। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० का जहाजहरू उडान र अवतरण हुनेछन्।

पुष ७, २०७९ बिहीबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।