अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेछ : राष्ट्रपति भण्डारी
बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा अर्थतन्त्रले गम्भीर प्रकारका चुनौतीको सामना गरिरहेको बताएकी छन्।
बुटवलमा बिहीबारदेखि सुरू भएको १५औं राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै भण्डारीले आयातमाथि नेपालको निर्भरतामा विस्तार भएको र त्यसबाट विदेशी मुद्राको सञ्चितीमा अभूतपूर्व चाप परेको बताइन्।
राष्ट्रपति भण्डारीले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउनेदेखि पर्यटन प्रवर्द्धनका योजनाहरू अगाडि सार्नुपर्ने बताइन्।
‘हामीले यी चुनौती पार पाउन स्वालम्बी अर्थतन्त्रको विकासलाई मुलभूत उद्देश्य बनाउनुपर्छ,’ उनले भनिन्, ‘मुलकको व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, वनपैदावार, जडिबुटीमा आधारित आयात प्रतिस्धापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीति अवलम्बन गर्नुपर्छ।’
राष्ट्रपति भण्डारीले स्थानीय तहले खेतीयोग्य जमिन बाझो नराख्ने नीति अवलम्ब गर्नुपर्नेमा जोड दिँदै युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर काम गर्नुपर्ने बताइन्। यस्तो हुनसके केही वर्षभित्र व्यापार घाटा कम गर्दै लैजान सकिने उनले बताइन्।
त्यस्तै, राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनको प्रयोग, लाभको क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गर्नु राज्यको जिम्मेवारी भएकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरिन्।
‘उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले राज्यको निकायको ध्यान जानुपर्छ’, उनले थपिन्।
यस्ता मेला तथा महोत्सवले शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई चलायमान बनाउने र अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने उनको भनाइ छ।
पुष ७, २०७९ बिहीबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।