झुप्पाकै १५ लाख पर्ने संसारकै सबैभन्दा महङ्गो अंगुर

झुप्पाकै १५ लाख पर्ने संसारकै सबैभन्दा महङ्गो अंगुर

एजेन्सी : नेपालमा एक किलो अंगुरको मूल्य २०० देखि ३०० रूपैयाँ पर्छ। तर दुनियाँमा एउटा यस्तो अंगुर छ जसको एउटा दानाको मूल्य मात्रै करीब ६० हजार रूपैयाँ पर्द भन्दा तपाईंलाई विश्वास नलाग्ला। तर कुरा साँचो हो।

निकै दुर्लभ प्रजातिको यो अंगुर संसारकै सबैभन्दा महङ्गाे र विशेष हो। एक झुप्पाकै मूल्य करिब १५ लाख रूपैयाँ पर्ने यो अंगुरको खरीदबिक्री सामान्य बजारमा हुँदैन।

बिजनेस इनसाइडरको एक रिपोर्टअनुसार यो विशेष अंगुरको नाम रुबी रोमन हो। जापानको इशिकावामा उत्पादन हुने यो अंगुर सामान्यभन्दा करिब चारगुणा ठूलो हुनुका साथै निकै रसिलो र गुलियो हुन्छ।

जापानको इशिकावामा अंगुर किसानहरूले सन् १९९८ मा त्यहाँको एक कृषि अनुसन्धान केन्द्रलाई एउटा रातो रंगको अंगुरको जात विकास गर्न भनेका थिए। त्यसक्रममा ४ सयवटा अंगुरका लहरामा 
प्रयोग गरिएको थियो।

दुई वर्षपछि ती लहरामा अंगुरको फल लाग्यो र ४ सय फल्दा केबल ४ वटा लहरामा मात्रै रातो अंगुर फलेको थियो।

त्यसमध्ये पनि एउटा प्रकारको अंगुर मात्रै राम्रोसँग पाकेको थियो। त्यति धेरै अनुसन्धानबाट निस्किएको उक्त विशेष नश्लको खेती अहिले अनुसन्धानकर्ताहरूको टिमले नै गर्दछ। 

यो अंगुरको लिलामी सन् २००८ बाट सुरू भएको थियो। त्यसबखत ७ सय ग्रामको एक अंगुरको झुप्पा ९ सय १० डलर अर्थात् १ लाख रूपैयाँ भन्दा धेरै रुपैयाँ लिलामी भएको थियो।

सन् २०१६ मा २६ वटा दाना भएको यो अंगुरको एउटा झुप्पा साढे १२ लाख रूपैयाँमा लिलामी भयो।

पुष ७, २०७९ बिहीबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।