करेन्ट लगाएर श्रीमतीको हत्या, मरिसकेपछि गाडीले टाउको किचियो
पर्सा : श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमान्सहित दुई जनालाई पक्राउ गरेको छ।
३० वर्षीया रिंकु कुमारीको हत्या आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२७ जसौली बस्ने ३४ वर्षीय श्रीमान् कुशल दाससहित दुईजनालाई बिहीबार विहान पक्राउ गरेको हो।
रिंकुको आफ्नै घर अगाडीको सडकमा टाउको किचिएर रगताम्मे अवस्थामा शव फेला परेको थियो।
घटनाको अनुसन्धानका लागि खटिएको प्रहरीले हत्केलामा करेन्ट लागेजस्तो पोलेको दाग देखेपछि शंका लागेर कुशलसँग सोधुपछ गर्ने क्रममा उनले करेन्ट लगाएर हत्या गरेको स्वीकार गरेका छन्।
कुशलले श्रीमती पर–पुरूषसँग लागेकाेले हत्या गरेको प्रारम्भिक वयान दिएका छन्।
हत्या पश्चात कुशलले आफ्नै भाई २८ वर्षीय भरत दासलाई ना.३ च ६२४७ नम्बरको बोलेरो गाडी ल्याउन लगाई गाडीले मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ।
वारदातमा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडीलाई वीरगंज महानगरपालिका–१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गर्नुका साथै कुशलको भाइ भरतलाई समेत प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष ७, २०७९ बिहीबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।