एसियामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, बिरामीले चीन र जापानका अस्पताल भरिए

एसियामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, बिरामीले चीन र जापानका अस्पताल भरिए
तस्विरः युराे न्युज

एजेन्सी। चीनमा पछिल्लो समय कोरोना संक्रमणकाे दर बढेपछि अस्पतालहरू बिरामीले भरिन थालेकाे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएकाे छ। डाक्टर माइकल र्यानका अनुसार पछिल्लो समय चिनियाँ अस्पतालका आईसीयूहरूमा काेराेनाका बिरामीका चाप बढेकाे छ।

चीनका राष्ट्रपति सी चिनफिङले सन् २०२० देखि देशमा शून्य कोभिड नीति लागु गरेकाे थिए। तर कडा सरकारी नीतिकाे विरुद्ध नागरिकहरू प्रदर्शनमा उत्रिएपछि चीन सरकारले अधिकांश स्थानमा याे नीति फर्ता गरिसकेकाे छ।

केही दिनयता राजधानी बेइजिङसहित चीनका ठूला सहरमा कोरोना संक्रमणकाे दर बढ्दै गएकाे छ। चीनमा सोमबार र मंगलबार  कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भयाे।

कोरोना संक्रमणकाे दर बढ्नुमा चिनियाँ खोप कम प्रभावकारी भएको हाे कि भन्ने विज्ञहरूकाे अनुमान छ।

त्यसैले पहिलाेपटक चीनमा देश बाहिरबाट खाेप लगिएकाे छ। बुधबार जर्मनीबाट बायोएनटेक कोभिड खोप चीन पठाइएकाे हाे।

चीनमा बढिरहेको काेराेना संक्रमण चिन्ताजनक विषय हाे डब्लूएचओका महानिर्देशक डाक्टर गेहब्रेयसले बताएका छन्।

उता, जापानमा पनि कोभिड संक्रमितको संख्या लगातार रुपमा बढिरहेको छ। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार गत बुधबारको तुलानामा हिजाे १६ हजार एक सय नयाँ बिरामी थपिएका छन्।

जापानमा कोरोना भाइरसको आठौं लहर चलिरहेको छ। यो लहरमा दुई लाख ६ हजार नौ सय ४३ जना संक्रमित भएका छन्। गत अगस्ट २५ यता पहिलोपटक देशमा संक्रमितको संख्या दुई लाख पुगेको छ। 

राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा आज राजधानीमा दुई हजार तीन सय ७४ जना संक्रमित फेला परेका हुन्। पछिल्लो महामारीका कारण आज दुई सय ९६ जनाको मृत्यु भएको छ। 

पुष ७, २०७९ बिहीबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।