सांसदहरूको शपथपछि माओवादीले संसदीय दलको नेता चुन्ने
काठमाडौं: माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। आज दिउँसो १ बजे प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहणपछि माओवादीको संसदीय दलको बैठक बस्ने भएको हो।
आज अपराह्न ४ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। प्रत्यक्ष र समानुपातिकतर्फ गरी माओवादीमा ३२ सांसद छन्।
माओवादीमा हालसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बाहेक अन्य सांसदले संसदीय दलको नेतामा दावी गरेका छैनन्। त्यसैले प्रचण्ड नै निर्विरोध निर्वाचित हुने सम्भावना छ।
संसदीय दलको नेता नै बहुमत जुटाउन सकेको अवस्थामा प्रधानमन्त्री हुने व्यवस्था छ।
यसअघि नेपाली कांग्रेस संसदीय दलमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। एमालेमा भने केपी शर्मा ओली निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङदेन संसदीय दलको नेता चयन भइसकेका छन्।
पुष ७, २०७९ बिहीबार ११:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।