'चिकेन टिक्का मसाला' आविष्कार गर्ने सेफको निधन

'चिकेन टिक्का मसाला' आविष्कार गर्ने सेफको निधन
तस्बिर: आफूले आविष्कार गरेको परिकार चिकेन टिक्का मसालासँग अस्लम

एजेन्सी: स्कटल्याण्डको ग्लासगो शहरका एक सेफको निधन भएको छ। ७७ वर्षको उमेरमा निधन भएका ती सेफलाई 'चिकेन टिक्का मसाला' नामको परिकारको आविष्कार गरेको श्रेय दिइने गरेको छ।

अली अहमद अस्लम नामका ती सेफले सन् १९७० को दशकमा चिकेन टिक्का मसाला आविष्कार गरेको बीबीसले उल्लेख गरेको छ। एक ग्राहकले चिकेन टिक्का सुख्खा भएको भन्दै सस् समेत माग गरेपछि उनले चिकेन टिक्का मसाला नामको नयाँ परिकार बनाएका थिए।

चिकेन टिक्कामा उनले क्रिमयुक्त टमाटर सस् हालेर चिकेन टिक्का मसाला बनाउने गरेको बताइएको छ। स्कटल्याण्डको ग्लासगो शहरमा 'शिशमहल' नामको रेष्टुराँका सञ्चालक अस्लमको निधनपछि उनको सम्मानमा ४८ घण्टा रेष्टुराँ बन्द गरिएको छ।

पाकिस्तानमा जन्मिएका अस्लमले सन् १९६४ मा ग्लासगोमा शिशमहल खोलेका थिए।

मृत्यु हुनुअघि उनले एएफपी न्युज एजेन्सीसँग कुरा गर्दै आफ्नो रेष्टुराँमा चिकेन टिक्का मसाला आविष्कार भएको र युरोपमा यसले ख्याति प्राप्त गरेको बताएका थिए। "चिकेन टिक्का मसाला यो रेष्टुराँमा आविष्कार भएको हो। हामी चिकेन टिक्का बनाउँथ्यौँ र एक दिन एक ग्राहकले सुख्खा भएको भन्दै सस् समेत मागे र हामीलाई लाग्यो अब सस्‌सँगै पकाउनुपर्छ भनेर", उनले भनेका थिए।

त्यसपछि उनले दही, क्रिम, मसाला र सस् हालेर चिकेन टिक्का बनाए, जुन चिकेन टिक्का मसालाको नामले प्रख्यात भयो।

बीबीसीका अनुसार उक्त परिकार हाल पश्चिमाहरूको जिब्रोमा भिजिसकेको छ। केही अध्ययनले चिकेन टिक्का मसाला ब्रिटेनको लोकप्रिय तरकारी भएको पनि निष्कर्ष निकालेको छ। यस्तै चिकेन कोर्माले पनि लोकप्रियता हासिल गर्दैछ।

पुष ७, २०७९ बिहीबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।