नवनिर्वाचित सांसदहरूको शपथ आज, ११ बजे भेला हुन निर्देशन
काठमाडौं: मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ। संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ।
संघीय संसद्का महासचिव डा भरतराज गौतमले हिजो एक विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे शपथ कार्यक्रम रहेको र त्यसका लागि बिहान ११ बजेदेखि नै प्रतिनिधि सभा बैठक कक्षमा उपस्थित हुन निर्देशन दिइएको छ।
२७४ प्रतिनिधि सभा सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ गराउने छन्। जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबारै शपथ गराइसकेकी छिन्।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानूनबमोजिम शपथ लिनुपर्ने व्यवस्था रहेको छ।
यस्ते आजको शपथ ग्रहणअघि जबराको अध्यक्षतामा सर्वदलीय बैठक समेत बस्नेछ। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका एक/एक प्रतिनिधि र पाँच स्वतन्त्र सांसदहरू सहभागी हुनेछन्।
पुष ७, २०७९ बिहीबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।