शोभराजलाई क्यासिनोमा पक्राउ गर्ने तत्कालीन डिएसपी गणेश केसीको अनुभव : प्रमाण केही फेला नपरेपछि नक्कली आरोपमा हिरासतमा राख्यौँ
त्यो बेलामा म तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौँमा डिएसपी थिए। चाल्स शोभराज नेपाल आएकोबारे प्रहरीमा जानकारी थिएन। तर उनको अपराधबारे म प्रहरीमा प्रवेश गर्नु अगाडि नै थाहा पाएको थिए।
त्यो बेलामा म बच्चै थिए १२ वर्ष जतिको। जडीबुटी नजिक मनोहरा खोला किनारमा कुनै युवतीको शव फेला पर्यो भन्ने हल्ला फैलिएपछि बाल सुलभ स्वभाव अनुसार के भएको रहेछ भनेर म पनि हेर्नु पुगेको थिए। पछि प्रहरी सङ्गठनमा प्रवेश भएपछि त उसको अपराधबारे जानकारी हुने नै भइहाल्यो।
२०६० भदौँ ३१ बिहान दि हिमालयन टाइम्सले चाल्स नेपालमा रहेको समाचार तस्बिर सहित प्रकाशित गरेको रहेछ। अन्तर्राष्ट्रिय अपराधी जो नेपालमा भन्ने समाचार मात्रै हैन तस्बिर सहित आएपछि प्रहरी सङ्गठनमा हल्ला हुने भइनै हाल्यो।
अब समाचार प्रकाशित भएपछि भाग्ने पो हो कि भन्ने पनि भयो। अपराध महाशाखा र काठमाडौँको टोली बनाएर बिहानैबाट उसको खोजी सुरु गरिहाल्यौँ। ठमेलतिर देखियो भन्ने सूचनाको आधारमा त्यतातिर पनि गयो टोली। तर फेला परेन।
एयरपोर्टतिर बुझ्दा उ हवाई मार्गबाट बाहिरिएको थिएन। नाकाहरूलाई अलर्ट गराइसकेकाले स्थल मार्गबाट पनि भागिहाल्ने सम्भावना थिएन। काठमाडौँमै छ भन्ने त पक्कापक्की त भयो तर कता हो कता।
उ क्यासिनोको सौखिन भन्ने सूचना त थियो नै। दि हिमालयनमा प्रकाशित समाचारमा पनि उ रोयल क्यासिनोमा जाँदाको विवरण थियो। तर उ त्यही क्यासिनोमा जान्छ भन्ने पक्का त थिएन। तै पनि दशा लागेर कुनै न कुनै क्यासिनोमा पक्कै आउँला कि भनेर भएभरका सबै क्यासिनोमा सादा पोसाकका प्रहरी परिचालित भए।
त्यस्तै बेलुका १० बजेतिर हुनुपर्छ। चाल्स रोयल क्यासिनोमा प्रवेश गरेको सूचना आयो। लगत्तै सादा पोसाकको प्रहरीले भित्र गएर उही हो हैन भनेर पहिला रेकी गर्यो। उही हो भन्ने पक्का भएपछि नियन्त्रणमा लिएर हनुमानढोकामा ल्याए।
उसले क्यासिनोमै किन पक्राउ गरेको भन्दै निहुँ खोजिरहेको थियो। काम छ भनेर उसलाई बल्ल-बल्ल प्रहरी कार्यालयमा ल्यायौँ। टुरिस्टलाई दुर्व्यवहार गरेको भन्दै उ निहुँ खोजिरहेको थियो। त्यो रात जसोतसो उसलाई हिरासतमा राख्यौँ।
भोलिपल्ट ऊसँग कुरा गर्दा पुरै कन्फिडेन्स देखिन्थ्यो। 'म पहिलो पटक नेपाल आएको हुँ। तिमिहरूको देश कस्तो' भन्दै प्रहरीसँग झोक्किइरहेको थियो।
उ झोक्किनु स्वाभाविकै हो। नेपालमा जाँदा पनि अब पक्राउ पर्दिन भनेर नेपाल आएको थियो। डकुमेन्ट्री बनाउन आएको भने पनि उ नेपाल आएर घुमेर फेरी फर्किएर यी म नेपाल गएर आए नि भनेर किताब लेखाउने अनि पैसा कमाउने उद्देश्यले नेपाल आएको थियो।
तर उसले कच्चा कानुनी परामर्श लिएको रहेछ। उसलाई कसैले नेपालमा हत्या नै गरे पनि २० वर्ष कटेपछि कानुनी कारबाही हुन्न भन्ने सल्लाह पाएको रहेछ। बैंककमा भएको घटनामा २० वर्ष कटाएरै उसले उन्मुक्ति पाएको थियो। नेपालमा पनि त्यही त हो भनेर जिस्काउन आएको थियो।
तर नेपालमा हत्याको हदम्याद हुन्न। जतिखेर पनि पक्राउ पर्न सकिन्छ भन्ने थाहै पाएन। त्यसैले त उ पक्राउ पर्दा पनि पुरै कन्फिडेन्सका साथ प्रहरीलाई नै थर्काइरहेको थियो।
तर हामीलाई समस्या नभएको पनि हैन। २४ घन्टाबढी कसैलाई विना कारण थुन्न सकिँदैनथ्यो। उसको पासपोर्ट सक्कली नै थियो। अनि पुरानो केसको मिसिल फेला परेको थिएन। अब न छोड्नु न समात्नु भन्ने भयो नि।
गैर कानुनी थुनामा राख्दा जोखिम हुने नै भयो। अब कुनै न कुनै कारण नदेखाई त्यतिकै थुनामा राख्दा त गैर कानुनी थुना भन्ने पर्छ। तर मिसिल भेटिएको हैन।
त्यो बेलामा महान्यायाधिवक्ता हुनुहुन्थ्यो सुशील पन्त। डिआइजी केशव बराल अनि कुवेर सिंह रानासरहसित उहाँसँग सल्लाह गर्न गयौँ।
उसले पटक-पटक 'म यो भन्दा अगाडि नेपाल आएकै थिइन भनेको भन्यै थियो। पासपोर्ट सक्कली नै। तै पनि अध्यागमन कानुनमा टेकेर केही समय होल्ड गर्न सकियो भने त मिसिल खोज्न पाइन्थ्यो। त्यही अनुसार सल्लाह भयो। महान्यायाधिवक्ता अनुमति आयो।
त्यो बेलामा फुमराज पुञ्जाली काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो। उहाँसँग पनि सल्लाह भएपछि अध्यागमन कानुन अनुसार केही समय होल्ड गरेर मिसिल खोज्ने सल्लाह भयो।
घटना २०३२ तिरको। त्यो बेलाको कागजपत्र फेला पार्न नै सकस। प्रहरीमा अपराधको रेकर्ड राख्ने १० नम्बर डायरी भन्ने हुन्छ। खोज्न थाल्यो टिम। २०३२ सालमा चाल्स गुरुमुख भनेर लेखिएको डायरी फेला पर्यो। उसको राहदानीमा पनि नाम त्यही थियो। डायरीको रेकर्डले मुद्दा काठमाडौँ जिल्ला अदालत गइसकेको पनि पुष्टि भइहाल्यो।
तर अझैँ मिसिल खोज्ने काम जारी नै थियो। बबरमहलको पुरानो स्थानमा थियो काठमाडौँ जिल्ला अदालत। त्यहाँ गएर भएभरको मिसिल खोज्दा चाल्सको केही फेलै परेन। खोज्ने टिम लखतरान भयो। एक जना पुराना कर्मचारी रहेछन् अदालतको।
उनले पहिला जिल्ला अदालत चारखालमा थियो। केही फाइल त्यता पनि छ भनेपछि टिम त्यता लाग्यो। पाँच-छ दिनको खोजीपछि मिसिल फेला पर्यो। प्रमाण भइहाल्यो। अनि अध्यागमन विभागलाई पत्र लेखेर हत्या अभियोगमा अनुसन्धानका लागि आफ्नै कार्यालयमा झिकायौँ।
OOO
त्यो बेलाको मिसिलमा चाल्स शोभराज नेपाल आएको पर्याप्त प्रमाण थियो। उसले झोँछेको ओरियन्टल लजमा बसेका अमेरिकन नागरिक कोन्नी जो ब्रोन्जीच र क्यानेडियन नागरिक क्यारियरे लरेन्ट बसेको पुष्टि भयो नै। अनि मनोहरा खोला किनार र साँगामा फेला परेको शव यी दुवैको भएको प्रमाण थियो।
उनीहरूसँग भियतनामी व्यापारीले भेटेको र उ चाल्स भएको, काठमाडौँको होटेल सोल्टीमा बसेका उनी प्रहरीले अनुसन्धान सुरु गरेपछि २०३२ पुस १२ गते राति भागेको प्रमाणहरू थियो।
यसले हामीलाई अनुसन्धान अगाडि बढाउन लिड मिल्यो। यसकै आधारमा अनुसन्धान अगाडि बढाउँदै लैजाँदा उ सन् २००३ अगाडि पनि नेपाल आएको र सोल्टीमा बसेको प्रमाण लगायतका थप प्रमाणहरू फेला पर्यो अनि हामीले पूरक अनुसन्धान प्रतिवेदन बनाएर काठमाडौँ जिल्ला अदालतमा बुझायौँ। उसलाई जन्मकैद भयो।
पछि म जिल्ला प्रहरी परिसर काठमाडौँकै प्रमुख भएर आए। त्यो बेलामा २-४ पटक केन्द्रीय कारागार जाँदा चाल्ससँग भेटेको थिए। उसलाई पहिला नै अनुसन्धानको समयमा हेर नेपाल भनेको धर्ममा विश्वास गर्ने देश हो। जसले गम्भीर अपराध गरेको हुन्छ उ कुनै न कुनै बेलामा नेपाल फर्कन्छ र सजाय पाउँछ। आफ्नो अपराध नढाँट भनेर भनेको थिए। उसले पत्याएको थिएन।
जेलमा भेट्दा मैले उसलाई मेरो यही भनाई सुनाउँदा उँ तेरो देशमा मानव अधिकार भन्ने नै छैन। प्रमाण नै हेर्दैनौँ भनेर उल्टो कन्भिन्स गर्न खोज्थ्यो।
आज उमेर लगायतका कारण खुलाएर अदालतले छाड्ने फैसला दिएको समाचार पढे। बुढो पनि भयो। अब त अपराध नगर्ला कि!
( केसीसँग उकेराका लागी केपी ढुंगानाले गरेको कुराकानीमा आधारित)
पुष ६, २०७९ बुधबार २२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।