बाक्सिला बजारका आगलागी पीडितका लागि राहत संकलन सुरु
खाेटाङ। गत सोमबार साँझ भएको आगलागीबाट विस्थापित भएका खाेटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितलाई राहत रकम जुटाउन थालिएको छ। आगलागी पीडित परिवारको सहयोगार्थ खोटाङ उद्योग वाणिज्य संघ, राजनीतिक दल, स्थानीय समाजसेवीलगायतको सक्रियतामा राहत रकम संकलन अभियान सुरु गरिएको हो।
जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
मंगलबारदेखि बाक्सिला बजारमा सञ्चालन गरिएको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम संकलन गरिएको उद्योग वाणिज्य संधका शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले जानकारी दिएका छन्।
उता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पनि अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।
आगोले व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको छ । अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभी र स्काभेटर लगाएर भत्काइएको थियो ।
पुष ६, २०७९ बुधबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।